मखुण्डोभित्रको कोरोना


मखुण्डोभित्रको कोरोना

कोरोना जब उफ्रियो सहरमा
वीर बहादुरले
भर्खरै पाएको जागिर गुमायो,
त्यसपछि के भयो ?
उसको टेक्ने लौरो भाँचियो,
समाउने हाँगो लुछियो,
कोरोना जब उफ्रियो सडकमा
औषधिको अभावमा
मनमायाले गुमाइन् एउटा भरिलो भरोसा,
खोसियो रातो सिउँदो ।
त्यसपछि के भयो ?
भासियो एउटा सुन्दर घर
अन्धकारमय दलदल रसातलभित्र
कोरोना त कोरोना भैगयो
कोरोनालाई पछि पार्दै
कोरोनाभन्दा बलिया भएका छन् मान्छे ।
हिजोआज
उसैले चलाउँछ बजार
उसैले चलाउँछ भन्सार र संसार
मात्र मान्छेको भाउ छैन
तर सबैको भाउ उसैले बढाउँछ
सहर उसैको हो, बेस्कन हल्लाउँछ ।
यसरी कोरोना
सहरभर हैकम देखाउँछ
मनमाया र विरबहादुरहरूलाई  रुवाउँछ ।

सेक्युरिटी मसिन
नयाँ कोरोना गाँजिरहन्छ मनमायाहरू
लाउडा अनि वाइडबडी
उहानी कोरोनाहरू भाँचिरहन्छन्
वीरबहादुरका श्वास टेकाउने अडेसोहरू
लुछिरहन्छन् ओम्निहरू
निरिहका फोसिल मासुहरू
कहाँ चिन्छन् ओम्निहरू ,
बिर्ख बहादुरको उसको हप्तौ नबलेको चुल्हो ?
कहाँ देख्छ र लाउडाहरू
मनमायाको खाली पेट अनि थला परेको छोरो ?
कहाँ सुन्छ र वाइडबडी
अभावका अनन्त अशान्त कोरसहरू ?
मनमाया भन्छे
अचेल कोरोना
नुन तेलमा असाध्यै बढेको छ रे ?
अचेल कोरोना
रासनमा, पानीमा अचाक्ली बढेको छ रे
नछुनु है
वीरबहादुर भन्छ
अचेल कोरोना
सबै चिजमा सल्केको छ रे
किनकी शासन सडेको छ रे !
नकोट्याउनु है
त्यसैले
आजकल बिरबहादुर अनि मनमायाहरू
मास्क एकैछिन छाडदैनन्
कारण कोभिडबाट बच्न होइन
अभावले चरचर फुटेको ओठ नदेखियोस् भनेर
नत्र फेरि सोध्नेछ राज्य
उसलाई
जाबो दूध र भात पनि खान पाएको छैनस भनेर
यसरी
कोरोना मेरो देश चलाउँछ ।
मान्छेलाई थुनेर
कुखुरे छाती फुलाएर
वीरबहादुर अनि मनमायाहरुका छातीमाथि
कुखुरे छाती फुलाएर
कुदाउँछ काला बख्तरबन्दहरु ।


प्रेम राई परिक्षित


(प्रेम राई परिक्षितको जन्म भोजपुरमा भएको हो । हाल उहाँ ललितपुरमा रहेर अध्यापन पेशामा संलग्न हुनुहुन्छ । उहाँका दर्जनौं गीत, कविता, मुक्तक र लघुकथाहरू प्रकाशित छन्। उहाँ विभिन्न साहित्यिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँले लेखेका गीतहरू रेडियो नेपालबाट प्रसारित भएका छन् । उहाँ नेपालको क श्रेणीको गीतकारका रुपमा परिचित हुनुहुन्छ ।)