प्रिय मेरो मृत्युमा कुनै शोक धून नबजाउनू–२


[ss_social_share]
लेखक : लेखापढी      २५ बैशाख २०७८, शनिबार १०:३० मा प्रकाशित     
प्रिय मेरो मृत्युमा कुनै शोक धून नबजाउनू–२

प्रिय मेरो मृत्युमा कुनै शोक धून नबजाउनू ।
कुनै उत्सव नमनाउनू ।
किनकी यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण प्रत्येक पल विजयीको हाँसो हाँसिरहेको छ ।
भर्खर भर्खर सपना फूल्न थालेका युवाहरुको आयुमा
भर्खर फुल्दै गरेका कलिला मुनाहरूका खुसीहरूमा
जहर फैलाइरहेको छ ।
ऊ कहिले अस्पतालको गेटमा बेडको अभावमा
तडपिएको आत्मामाथि गिद्धे नजर लगाइरहेको छ ।
ऊ कहिले अक्सिजनको खाली सिलिन्डरहरूमा
अनेकौँ बाजा बजाएर तान्डव गरिरहेको छ ।
ऊ कहिले एम्बुलेन्स नपाएर टयाक्टरमा छटपटाइरहेको बिमारीको
शरीरसँग जीवनको होली खेलिरहेको छ ।
ऊ कहिले सिटामोल रेमडेसिवीरको अभावलाई
मिठो धून बनाएर बजाइरहेको छ ।
ऊ असहाय, निरीह, अचेत आत्मामाथि
आफ्नो उन्मुक्तको नाच नाचिरहेको छ ।
विजयी हुन तम्तयार छ ।

त्यसैले प्रिय मेरो मृत्युमा कुनै शोक धून नबजाउनु,
कुनै उत्सव नमनाउनू ।
किनकी यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।

यो महाव्याधि, यो महामारी
शताब्दीमा कुन बेला आउँछ र कसरी आउँछ ?
हामीले अनुमान र निवारणका उपायलाई
उपेक्षा पो गरयौँ कि ?
पहिलो लहरबाट दोस्रो लहरमा अझ शक्तिशाली भएर
आउँदै गरेको भाइरसलाई नजरअन्दाज गरयौँ कि ?
हाम्रा चेतनशील मस्तिष्क खै कसरी
अलमलिए होलान् ?
हामी आफ्नो सपनाको संसारमा ठूलठूला महल
सजाउनमा नै व्यस्त भयौँ  कि ?
ती सब क्षणभरमा तहसनहस हुन्छ भन्ने कुरामा
अलिकति पनि सचेत भएनौँ कि ?
प्रकृतिले दिएको यति ठूलो उपहारलाई
हामी ध्वस्त बनाउन तल्लीन पो भयौँ कि ?
हामीभित्र रहेको मपाईपन, लालचीपन र स्वार्थीपनले
हाम्रा ज्ञान, विवेक बुद्धि र सदाचारलाई
आफैँले हत्या पो गरयौँ कि ?
क्षणिक स्वार्थ र भोगविलास र वैभवकताको लागि
हजारौँ अक्षम्य पाप पो गरिरह्यौं कि ?
हजारौँ सृष्टि फुलाउने भ्र्रुणलाई गर्भमा नै हत्या गरेर
पापको भकारी भरिरह्यौं कि ?
मंगल र चन्द्रमामा बस्ती बसाउने धुनमा मानवबस्ती नै सखाप पार्न
तल्लीन भयौँ कि ?
मानवताको सबै सिद्धान्त बिर्सेर आफू मात्र रमाउन
नयाँ नयाँ सिद्धान्त प्रतिपादित गरयौं कि ?
निङ्कुश शासकहरूको तानाशाहीलाई
खबरदारी गर्नको बदलामा आफैँ सत्ता र सर्वशक्तिमानको
भोकले अन्धो भयौँ कि ?
हाम्रै लाशमाथि नाचेर बाँसुरी फुक्ने गिद्धहरूको
पक्षपोषक पो भयौँ कि ?
भ्रष्ट्राचार, कमिशनखोर र कालोबजारियाको नाड्गो नाच
नाच्नेहरूको साक्षी बसेर अपराध पो गरयौँ कि ?
यो क्रुर र निरकुश सत्ताको साक्षी हामी
हामी नै दोषी हौँ  कि  ?
त्यसैले मेरो प्रिय !
मेरो मृत्युमा कुनै शोक धून नबजाउनू,
कुनै उत्सव नमनाउनू ।
किनकी यहाँ मृत्यु नै उत्सव मनाइरहेको छ ।
प्रत्येक क्षण, प्रत्येक पल आफनो अस्तित्वको शंख फुकिरहेको छ ।
माफ गर प्रिये ! मैले खुसीको आनन्दको र जीवनको
कविता लेख्न सकिनँ ।
किनकी यी सबै कुरा अपहरण भएर
समय नै बन्दी भएर बाँचिरहेको छ ।


शर्मिला खडका


(शर्मिला खडका दाहाल नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने प्रतिभाशाली लेखक हुनुहन्छ । उहाँ आख्यान, बालसाहित्य एवम् कविता लेखनमा सिद्धहस्त मानिनुहुन्छ । यस कवितामा उहाँले कोरोनाको कारण उत्पन्न सन्त्रासजन्य अनुभूतिका साथै मानवीय विसंगतिप्रति आलोचनात्मक चेतना प्रस्तुत गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •