एकीकृत समाजवादी सरकारबाट बाहिरिने चेतावनी


लेखक : लेखापढी      ३ माघ २०८०, बुधबार ०६:१९ मा प्रकाशित     
एकीकृत समाजवादी सरकारबाट बाहिरिने चेतावनी

काठमाडौँ । सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबिच खटपट भएको छ । आगामी फागुन २० गते रिक्त हुन लागेको एक तिहाइ सिटमा गठबन्धनभित्र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मात्र भागबण्डा गरेपछि साना दलहरू असन्तुष्ट देखिएका हुन् ।

सिट बाँडफाँट गर्न पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा भाग नपाउने भएपछि सत्ता घटक साना दलहरू त्यहाँबाट बाहिरिएका थिए । बैठकबाट बाहिरिनेमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । सातै प्रदेशमा भोट प्रभावित गर्ने उनीहरूसँग मत नभएपनि एक/एक सिट दाबी गरेका थिए । तर नपाएपछि जनमत पार्टीले मधेस र लुम्बिनीमा अन्य क्लस्टरबाट छुट्टै उम्मेदवार उठाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा जपाले मधेसमा रामशंकर महासेठ र लुम्बिनीमा बालगोविन्द चौधरी थारुलाई उठाएको छ । ती प्रदेशबाहेक अन्य प्रदेशमा गठबन्धनका उम्मेदवारलाई नै सघाउने निर्णय गरेको छ ।

पुस २९ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत सहभागी भएन । उक्त बैठकले गठबन्धनबाट उम्मेदवारी दिएका १९ जनालाई विजयी गराउन अपिल गरेको थियो । अपिलमा जनमतबाहेकका दलको मात्र हस्ताक्षर रहेको छ ।

उसो त सरकार सञ्चालन र सिट बाँडफाँटलाई लिएर गठबन्धनका ठूला दल कांग्रेस र माओवादीप्रति एकीकृत समाजवादीभित्र पनि व्यापक असन्तुष्टि देखिएको छ । सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकमा गठबन्धनको संस्कृति विपरित कांग्रेस र माओवादीले सरकार सञ्चालन र सिट बाँडफाँटमा एकलौटी गरेको भन्दै तीव्र असन्तुष्टि पोखिएको छ ।  यस्तै अवस्था कायमै रहे सरकारबाट बाहिरिनुपर्ने केही नेताहरूले धारणा राखेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले गठबन्धनमा बस्न निकै अप्ठ्यारो भएको रातोपाटीलाई बताए । ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, खनालले भने ।

जसपाबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादवले गठबन्धनसँग कुनै सरसल्लाह नगरी सरकार एकलौटी चलाएको भन्दै मधेस प्रदेशमा माओवादी असन्तुष्ट देखिएको छ । यसै विषयलाई लिएर केन्द्रीय सदस्यसमेत रहेका भरतप्रसाद साहले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । साहले मुख्यमन्त्री यादवले गठबन्धन अन्य दलसँग कुनै सरसल्लाह नगरेको, एकलौटी सरकार चलाएको लगायत विषयमा प्रधानमन्त्रीसँग गुनासो पोखेका थिए ।

‘मधेस सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम भएन । गठबन्धनको नियमित बैठक हुनुपर्ने थियो भएन । सत्ता सञ्चालनमा कहिले पनि छलफल हुँदैन । सरकार एकलौटी चलाएका छन्’, गुनासो पोख्दै उनले भने, ‘सरकार बनाउँदा हाम्रो मत चाहियो, नीति तथा  कार्यक्रम, बजेट पास गर्न मत चाहियो । तर कुन विधेयक कसरी ल्याउने भन्ने विषयमा छलफल हुँदैन ।’