विद्यार्थी दीक्षित गराउनेमा त्रिभुवन विश्वविद्यालयको विश्व कीर्तमान


विद्यार्थी दीक्षित गराउनेमा त्रिभुवन विश्वविद्यालयको विश्व कीर्तमान

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले एकैपटक धेरै विद्यार्थी दीक्षित गराउनेमा विश्व कीर्तमान बनाएको छ। त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालबाट विद्यार्थीहरू दीक्षित भएका हुन्। जसमा २६ हजार बढी विद्यार्थीलाई दीक्षित गराएकोमा विश्व कीर्तमान कायम गरिएको अफिसियल वर्ल्ड रेकर्डले जनाएको छ।  उसले प्रदान गरेको प्रमाणपत्रमा २६ हजार बढीको भौतिक उपस्थितिमा दीक्षमान्त समारोह आयोजना गरेको र इतिहासमै यो धेरै भएको उल्लेख छ। 

त्रिविको ६१औं ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए। निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन्।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा. शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए। उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे।