गठबन्धनमा सहभागी हुन माधव नेपाल सशंकित


गठबन्धनमा सहभागी हुन माधव नेपाल सशंकित

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणमा सहभागी हुन् एकीकृत समाजवादीलाई आग्रह गरेका छन्। 

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटी नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन्। ओली र दाहाल नेता नेपाललाई भेट्न मंगलबार साँझ उनको निवास कोटेश्वर पुगेका थिए। 

ओली र दाहालले विगतका तितामिठा अनुभवलाई बिर्सिएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। स्रोतका अनुसार ओली र दाहालले गठबन्धनमा सहभागी हुन कन्भिन्स गरिरहँदा नेता नेपालले भने विगतमा आफूले पाएको धोकाको प्रसंग निकालिरहेका थिए।

ओली र दाहाल नेता नेपालसँग दीर्घकालीन रूपमा मिलेर अघि बढ्ने आश्वासन दिलाउने कोसिस गरेका थिए। तर माधव नेपाल भने ओली र दाहालले दिएको आश्वासन प्रति ढुक्क नभएको स्रोतले बताएको छ।

सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए। हिजै बेलुका प्रधानमन्त्री दाहालले कोटेश्वर पुगी नेता नेपाललाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। एकीकृत समाजवादीको हिजोको बैठकले वर्तमान गठबन्धनका बारेमा तत्काल प्रतिक्रिया नदिने निर्णय गरेको थियो। 

एकीकृत समाजवादीका एक नेताले अन्नपूर्णसँग भने, ‘एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालले  गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभयो तर हामी अझै ढुक्क छैनौं। हाम्रो अध्यक्षज्यूले पनि उहाँहरूलाई त्यही सन्देश दिनुभयो।’ ओली र प्रचण्ड बाहिरिए लगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नेपालको निवास पुगेका छन्।