पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर


पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

काठमाडौं : पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा पौष ४ गते बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

कार्यकारी निर्देशक पदमा नियुक्तपश्चात उनको योग्यता र मापदण्डको विषयलाई लिएर गौश्वाला क्षेत्रमा विरोधसमेत भएको थियो। माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुन पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत थिइन्।

कार्यकारी निर्देशक पुनविरुद्ध पौष २६ गते भरत मरासिनीले नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको उच्च अदालत पाटनले जनाएको छ। 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले नियुक्ति खारेज गरेको छ। 
यस अगाडि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पौष १२ गतेको बैठकमा पनि  पशुपति क्षेत्र विकास कोषमा नियुक्त भएकी कार्यकारी निर्देशक पुनको नियुक्तिसम्बन्धी कागजातहरू ३ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको थियो।

समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो। बैठकले निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणलगायत कागजात मागेको थियो।