यस वर्षकाे पद्मश्री पुरस्कार उप्रेतीको ‘हंस’लाई, प्रश्रितलाई पद्मश्री साधना सम्मान


यस वर्षकाे पद्मश्री पुरस्कार उप्रेतीको ‘हंस’लाई, प्रश्रितलाई पद्मश्री साधना सम्मान

काठमाडौँ – यस वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्मश्री साधना सम्माना साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ।

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख रुपैयाँ राशीको पद्मश्री साहित्य पुरस्कार उप्रेतीलाई दिने निर्णय गरेको हो । ‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएकाले पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।

यस्तै ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएको जनाउँदै साहित्यकार प्रश्रितलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।