स्वर्गतिरको यात्रामा: निबन्ध


लेखक : लेखापढी      ५ असार २०७८, शनिबार १९:०७ मा प्रकाशित     
स्वर्गतिरको यात्रामा: निबन्ध

‘कि गरी छोड्छु, कि मरी छोड्छु’ भन्ने लोकोक्ति मनभरि सुसेल्दै म उहिलेको नेपाल–खाल्डो र अहिलेको नेपाल–राजधानी काठमाडौँ शहर छिरेको थेँ, केही वर्षअघि ।

काठमाडौँ बसाइको यस अवधिमा जन्मकर्ता र जन्मधर्ताको झलझली याद नआएको होइन । तथापि घरतिर जान सकिनँ, भ्याइनँ । घरबाट बेलाबेला ‘बाआमा त तिमीलाई नै सम्झेर रुन्छन्’ भनेर भाइको हातबाट मेरो मोबाइलमा म्यासेज आउथ्यो ।

दश जोड दुई (कक्षा १२) को परीक्षा सक्काएर लगत्तै घर जाने मेरो एउटा मनस्थिति थियो । अर्को मनस्थिति थियो, केही समय रोकिने र अधुरा सपना पूरा गरेर जाने । रोकिएँ । तर कताकता दिक्दारी लागेर आयो । गाउँघरको यादले पनि सताउन थाल्यो ।

फोटोकपी गर्दै विद्यार्थीमाझ बिक्री गरेर कमाउने धन्दामा लागेछन् । त्यसैले जेठ ३० गते पुनः परीक्षा सञ्चालन गरिने रहेछ ।

परीक्षा दिएर बसेको केही दिनपछि उमाशिपले सूचना जारी गर्यो। कम्प्युटर साइन्सको परीक्षा देशव्यापी रूपमै रद्द भएको रे ! कारण थियो– काठमाडौँका केही ठालु शिक्षक र केन्द्राध्यहरूले परीक्षा अगावै प्रश्नपत्र खोलिदिएछन् । अनि फोटोकपी गर्दै विद्यार्थीमाझ बिक्री गरेर कमाउने धन्दामा लागेछन् । त्यसैले जेठ ३० गते पुनः परीक्षा सञ्चालन गरिने रहेछ । मैले तुरुन्तै घर नगई यतै बसेको खेर नजाने भयो ।’

धर्ती नचाइदिऊँ कि स्वर्ग उचाइदिऊँ भन्ने भावना कति बेला त मनै फुलेर आउथ्यो ।

यस छोटो अवधिमा मैले केही अधुरा काम पूरा गर्ने सङ्कल्प लिएँ । तथापि नेपालजस्तो आलस्यै आलस्यको आहालमा हेलिएको र विज्ञानको चितादौडमा पछि परेको देशको समाजमा म मात्र एक्लो वृहस्पति हुन सकिनँ । अँ, रहर नभएको चाहिँ होइन । धर्ती नचाइदिऊँ कि स्वर्ग उचाइदिऊँ भन्ने भावना कति बेला त मनै फुलेर आउथ्यो । तर के गर्नु, मनले चाहँदैमा कहाँ पूरा हुँदो रहेछ र ? तन, जीवन र जनको सहाराविना त मनको सपनाको शिखर छुन नसकिँदो रहेछ ।

लगत्तै सम्झिएँ, युगकविज्यूले लेखेको कवितांश— ‘भाग्यको लहरमा लहरी–लहरी, पुगेँ म यो मरुस्थलमा कसरी ?’

उहिल्यै हाम्रा आदिकविज्यूले ‘अमरावती’ भनी लेखेको नगर आज ‘अधमरावती’ भएको आफ्नै आँखाले पढ्न र देख्न पाउँदा अचम्म पनि लाग्यो । लगत्तै सम्झिएँ, युगकविज्यूले लेखेको कवितांश— ‘भाग्यको लहरमा लहरी–लहरी, पुगेँ म यो मरुस्थलमा कसरी ?’ एउटा कविदेखि अर्को कविसम्म आइनपुग्दै अमरावती मरुस्थल भइसकेको सत्य पचाउनै परेको थ्यो । मभित्रको कविमनमा पनि यस्तो विचार स्फूरण हुन थाल्यो— ‘जब प्रकृतिको सुन्दर छविमाथि मानिसको कुरूप राज चल्न थाल्छ, तब सृष्टिको माधुर्य पनि विष बनेर बहकिँदो रहेछ !’

मरुस्थलै भए पनि प्रथम पटक सपनाको नगरमा पाइला टेक्दा बेग्लै अनुभूति भएको थ्यो । कताकता मैले गौरवान्वित महसुस गरिरहेँ । तर विस्तारै यहाँको हरेक कुरो खल्लो, रवाफिलो र बोक्रे लागेर आयो । लहलह सुनौला बाली झुल्ने विशाल फाँटभरि जताततै चट्टानी संरचनाहरूले भरिएको देख्दा मलाई काठमाडौँ महानगर एउटा रङ्गीन बगरजस्तो लाग्न थाल्यो ।

मलाई के लाग्यो भने सामन्ती रवाफ र राजकीय परिवेशमा जन्मी–हुर्की आएको नेपाल प्रज्ञा प्रतिष्ठानको औपचारिकता पूरा गर्ने जन्मजयन्ती बाहेक अरू केही रहेनछ असार–९ ।

जेठ–३० गतेको परीक्षा सकाएर पनि मैले असार–९ कुर्नै थियो । असार–९ लाई कविहरूको उत्सव भन्नेहरू धेरै भेटिए । तर मलाई के लाग्यो भने सामन्ती रवाफ र राजकीय परिवेशमा जन्मी–हुर्की आएको नेपाल प्रज्ञा प्रतिष्ठानको औपचारिकता पूरा गर्ने जन्मजयन्ती बाहेक अरू केही रहेनछ असार–९ । यसपालिको राष्ट्रिय कविता महोत्सवमा मैले पनि ‘श्री चारहरू’ कविता मार्फत् सहभागिता जनाएको थिएँ । तर मेरो कविता वाचन चरणमै छनौट गरिएनछ । आखिर कवितामा तिनीहरूकै प्रति लक्षित व्यंग्य–आक्रोश थियो, जो अहिले नेपालमा हैकम चलाइरहेछन् ।

भोलि असार १२ गते म घर हिँड्ने पक्का भइसकेको छ । काठमाडौँ बसाइ अवधिभर दाइको माया र सहयोग अविस्मरणीय रह्यो । म जीवनमा कहिल्यै व्यावहारिक हुन जानिनँ । दाइ नभएको अवस्था हुन्थ्यो भने सायद म साँझमा खाना खान बिर्सन्थेँ हुँला ।

‘माँडा’ सँग म सानैदेखि परिचित थेँ । सुदूरपश्चिमेलीहरूको विशेष अवसर तथा पर्वहरूमा यो भोजनले खूबै महत्त्व राख्दछ ।

आजको साँझ विशेष मिष्ठान्न पकाउने ध्येयले दाइले चामलको पिठो, दही, नौनी, तरकारी आदि किनेर ल्याएछन् । ‘माँडा’ सँग म सानैदेखि परिचित थेँ । सुदूरपश्चिमेलीहरूको विशेष अवसर तथा पर्वहरूमा यो भोजनले खूबै महत्त्व राख्दछ । दाइको आज माँडा पकाउने विचार रहेछ । तर माँडा उति राम्रो चाहिँ भएन । कारण, यो परिकार पकाउन विशेष सीपको आवश्यकता पर्छ । चामलको पिठो मसिनो हुनुपर्छ र त्यसमा दाउन पनि हाल्नुपर्छ । यहाँ त्यसो पाइएन ।

घरमा आमाले मिठो गरी पकाएको माँडा सम्झेर जिब्रो रसायो । तर माँडा खाइरहेकै अवस्थामा यसको स्वादचाहिँ खल्लो लाग्यो । गाउँमा सारा कुरा आफ्नै सीप र पौरखले आफ्नै बारीमा फलाएका ताजा उत्पादन हुन्थे । माटाले लिपलाप पारेको चुलोमा दाउरा बालिन्थ्यो । अनि आफ्नै परम्परा, संस्कृति र चलनअनुसार खस्रो हातको मसिनो सीपले पकाइन्थे र खाइन्थे । यसरी खानुको स्वाद र आनन्द बेग्लै हुन्थ्यो ।

‘नरहरी’ को दिन अर्थात् पुषको अन्तिम साँझ विशेष रमझमका साथ माँडा खाने चलन थ्यो गाउँघरमा । विगतमा आमाले तरुलको दाउन हाली भैँसीको नौनीमा तरेली परेको र घ्यू चुहिँदो माँडा पकाएको सम्झिएँ । रायोको साग र दूधसँग मिठो माँडा खाएको दृश्य सम्झिँदा घुटुक्क थुक निलेँ मैले । माघको पहिलो उषासँगै पँधेरोमा नुवाइधुवाइ गरिन्थ्यो । अनि कागलाई माँडा दिइन्थ्यो । बाँकी भाइ–बैनीबीच बाँडीचुँडी खाइन्थ्यो । अपुग हुँदा कलहसमेत गरिन्थ्यो । ती सारा दृश्यहरू झलझली आँखामा नाचिरहे ।

सम्झिएँ— म जन्मी, हुर्की बढेको त्यो रातो माटोले लिपेको पुरानो घर, जहाँ सेतो कमेरोले समेत रङ्ग्याएर आकर्षक बनाइएको हुन्थ्यो ।

बाआमा सम्झिएँ । भाइबैनी सम्झिएँ । पर्वको बेला कसैको घरमा शोक तथा विपत्ति आइलाग्यो भने आफ्नै घरमा बोलाएर मिठो खुवाउने आफन्त तथा गाउँ सम्झिएँ । र, सम्झिएँ— म जन्मी, हुर्की बढेको त्यो रातो माटोले लिपेको पुरानो घर, जहाँ सेतो कमेरोले समेत रङ्ग्याएर आकर्षक बनाइएको हुन्थ्यो । भोलि त घरतिरको यात्रामा जाने भइयो भनेर एकप्रकार मन फुरुङ्ग पर्यो । अनि साँझ नै आफ्ना माल–सामानहरू झोलाभरि प्याक गरेँ । केही किताब तथा पत्रपत्रिकाहरूको पोको पारी सब ठीकठाक पारेँ ।

आज ‘बाइ–बाइ काठमाण्डू’ भन्दै स्वर्गतिरको यात्रामा निस्कनु छ । बिहान दश बजे नै दाइले भात पकाई तयार पारे । बिदाइ भेट गर्न एकजना साथी पनि टुप्लुक्क आइपुग्यो । खाना खाने बेलामा मन त्यसै–त्यसै भरिएर आयो । खोइ के भयो, थालमा पस्किएको भात एकतिहाइ पनि खान सकिएन । एघार बजे बस छुट्ने भएकाले हतार हतार नयाँ बसपार्क पुगियो । तर बैतडी जाने भनिएको एघार बजेको बस आज मिस भएछ क्यारे !

काठमाडौँ आउने बेला दशैँको सिजन थ्यो र त पाएको सिट पनि खोसियो । अनि महेनद्रनगरदेखि काठमाडौँको यात्रा एउटा मुढोको भर गर्नु परेको थ्यो ।

अब एक बजे मात्र छुट्ने महेन्द्रनगरको बसमा जानुपर्ने रे ! अत्तरिया पुगेपछि बस चेन्ज गर्नुपर्ने रे ! दाइले कुरा मिलाएपछि लिखित रूपमा जानकारी प्राप्त गरेँ । म त्यति यात्रा गर्ने मान्छे परिनँ । त्यसैले आशंका लाग्न थाल्यो, कतै सिट नै नमिल्ने पो हो कि ? काठमाडौँ आउने बेला दशैँको सिजन थ्यो र त पाएको सिट पनि खोसियो । अनि महेनद्रनगरदेखि काठमाडौँको यात्रा एउटा मुढोको भर गर्नु परेको थ्यो ।

पर्खेर समय काट्नु साह्रै पट्यारलाग्दो हुन्छ । नजिकैको स्टेशनरीमा गएर केही साप्ताहिक र मासिक पत्रिका किनेर झोला हालेँ । दैनिकचाहिँ पढ्न थालेँ, समय कटाउने मेसो । बल्लतल्ल घडीले एक बजायो । दाइ बिदा भएर फर्किए, म चाहिँ गाडीभित्र छिरेँ । ‘महाकाली यातायात’ एक्लै थ्यो । म पनि बैतडी जाने यात्रु एक्लै थेँ । तर गाडीभित्र अनेक यात्रु भएकाले न त त्यो यातायातको साधन एक्लो थ्यो, न म नै । ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भनेझैँ भरैभरमा संसारमा अडेको रहेछ ।

सिटमा बसेपछि म ढुक्क भएँ । यो गाडी नयाँ हुनुका साथै आधुनिक रूपले व्यवस्थित रहेछ । सिटहरू सफा र चिटिक्क थे । बसको अगाडिपट्टि ठूलो भिडियो प्लेयर थ्यो । अर्को रमाइलो कुरा, एकजना महेन्द्रनगरसम्म जाने मजस्तै विद्यार्थी साथी भेटियो । हाम्रो सिट एउटैमा परेछ । आफ्नोपनको आभास भयो ।
थानकोटको नेटो काटिसकेपछि हरियाली गाउँ र सुन्दर पाखाहरूले मलाई लट्ठ्याए । सिरिरिरी हावा चलिरह्यो— स्वच्छ, शीतल, मधुर । पाखाभरि मकैबारी लहलहाएको देखिन्थ्यो । ठाउँ–ठाउँमा खोला–खोल्सेडाहरू रसाएर बाटो ओसिलो बनाइदिएका हुन्थे । माथिबाट घुम्तीहरू पार गर्दै तलतिर झर्दा निकै आनन्द आयो ।

विश्व पाल्ने वीर को हो ? धर्ती सिँगार्ने पौरख र सीप कसको हो ? पसिना रोपेर मणि फलाउने धन्य भन्छु म किसानलाई । धादिङका बेँसी–फाँटतिर छोट्टु धान र छोट्टु मकै असारैमा पाकिरहेका थे । झट्ट हेर्दा एक बित्ताभन्दा अग्लो नदेखिने बोटमा त्यो भन्दा झन् ठूला र पोटिला बालाहरू इन्दे्रनी आकारमा झुलिरहेका देखिन्थे । ती मगमग वास्ना छर्दै स्वर्णलाली पोखिरहेका थे । एक हात जति अग्ला हुँदा हुन् मकैबोटहरू । दुधिला घोगाहरू पनि यौवनमा हलक्क बढेकी युवतीका छातीमा निस्किएका पोटिला कोसाझैँ मकैका छातीबाट निस्किरहेका थे । ती पनि माधुर्यमय सुवास छर्दै पहेँलपुर भइरहेका थे ।

यसप्रकारको चाखलाग्दो दृश्यले मलाई लोभ्याइरह्यो । रोपाइँको हिलो खनेर धान रोपिने समयमा फाँटैभरि लहलह धान फलिरहेको दृश्य साँच्चै मनमोहक र अनौठो लाग्यो । यस क्षेत्रमा वर्षको दुई पल्ट मकै र धानको खेती हुँदो रहेछ । असारमा पाकेको मकै–धान भित्र्याएर पुनः रोपिने रहेछ । अनि त्यसलाई फेरि मंसिरमा भित्र्याएर सायद हिँउदमा गहुँ छरिँदो हो ।

झट्ट सम्झना भयो, त्रिशूलीहरू क्रूर हुन्छन् । जनप्रिय नेता मदन भण्डारीलाई मिठो चुस्की बनाउने यही त्रिशूली होइन र ?

त्रिशूली नदीको किनारै किनार । झट्ट सम्झना भयो, त्रिशूलीहरू क्रूर हुन्छन् । जनप्रिय नेता मदन भण्डारीलाई मिठो चुस्की बनाउने यही त्रिशूली होइन र ? बर्खायाम लागेरै होला, त्रिशूली धमिलो र भयङ्कर रूप धारण गरी सुसाइरहेकी थी । आफ्नै रफ्तारमा लमतन्न बगिरहेकी त्रिशूलीलाई एकबार त यस्तो लाग्थ्यो— प्रेमपूर्ण अँगालोमा बेरिदिऊँ ! उसको रौद्र र शान्त दुवै रूप मेरो मानसपटलमा अनुभूत भइरहे ।

वारिपारिका डाँडा र फाँटहरूलाई मनोरम र हरियालीयुक्त बनाउनमा कसको हात रहेको छ त ? यिनै त्रिशूलीहरूको त हो नि ! मलाई यो कुरा पनि ज्ञात भयो, आफूले होसियार नबन्ने हो भने प्रकृतिका हरेक कुरा आफ्नै लागि घातकसिद्ध हुन जान्छन् । प्रत्येक वस्तुमा सकारात्मक तथा नकारात्मक दुवै उपयोगिता विद्यमान हुन्छन् । उसो भए त्रिशूली आफैमा घातक र क्रुर कहाँ हो र ?

त्रिशूली आफ्नै गतिमा बगिरह्यो, म पनि आफ्नै गतिमा बगिरहेँ । उसमा आफ्नै वेग थ्यो, ममा थ्यो कृत्रिम वेग । माथि पहाडका चुचुराहरूबाट कलकल स्वच्छ पानी झरेर आउने भिराला खोल्सा र छहराहरूले बनाएका गल्छेडाहरू बारबार भेटिन्थे । ती खोलाका नाम पनि मलाई रमाइला लागे– डाङडुङ्गे खोला, चिरौँदी खोला, दरौँदी खोला आदि ।

पहाडबाट झरेर आउने स–साना खोलाहरू फुत्त त्रिशूलीमा हाम फाल्थे । अनि ती बिलाउँथे, जसरी बूँद समुद्रमा पुगेर बिलाउँछ । ठाउँठाउँमा स–साना पुलहरू नाघ्दै बस आफ्नै रफ्तारमा कुदिरह्यो । म झ्यालनेरै बसेको थेँ । प्रकृति देवीको निःशुल्क प्रदत्त पवन फोक्सोभरि भर्दै । ती रङ्गीन दृश्यहरू नियाल्दै म भावनामा डुबुल्की मारिरहेँ । कोही यात्रुहरू झ्यालबाटै क्लिक–क्लिक बाहिरका दृश्यहरू कैद गरिरहेका थे ।

चितवनको मुग्लिङ्ग बजार पुग्दा अलिअलि तातो हावाले स्पर्श गर्योे । वरिपरि हुस्सु लागेको थ्यो । त्यहाँबाट एक घण्टामा नारायणगढ आइपुगियो । पोलेका मकै । काँक्राका चिरा । अनि हरियो खुसार्नी पिँधेको नून । छाप्राभरि बोकेका केटाकेटी तथा आइमाईहरू । बाटोभरि यात्रुको स्वागत गरिरहेका जस्ता देखिन्थे । तर वास्तविकता अर्कै थ्यो । ती आफ्नो व्यापार फस्टाइरहेका थे । व्यापारै भए पनि त्यो यात्रुलाई गरिएको सेवा मान्नुपर्छ । सेवा निःश्वार्थ मात्रै कहाँ हुन्छ र ?

मलाई गजब आश्चर्य लाग्यो । फटाफट गुडिरहेको गाडीभित्रै छिरेर छाप्राभरिका मकै र काँक्रा बेच्न होडबाजी चल्दो रहेछ । त्यस्तैमा एउटा फुच्चे केटा गाडीभित्र छिर्यो । काठे सारङ्गी रेट्दै ऊ गाउन थाल्यो ।

वास्ना नाकभरि मडारियो । तापनि खाँदा चाहिँ ती त्यति स्वादिला हुँदा रहेनछन् । आखिर शहरको चीज न हो । 

यात्रुहरू प्रायः सबैले काँक्रा र मकै किनेर खान थाले । म भावनाभित्रबाटै यी दृश्यहरू नियालिरहेको थेँ । साथीले काँक्रोको चिरो किनिहाल्यो । हेर्दा मुख रसायो । वास्ना नाकभरि मडारियो । तापनि खाँदा चाहिँ ती त्यति स्वादिला हुँदा रहेनछन् । आखिर शहरको चीज न हो । बाटोघाटोको कुरा हो । बारीमा फलाएको जस्तै ताजा–स्वादिष्ट कहाँ पाइन्छ र ?
साँझ छिप्पिँदै गयो । सालको जङ्गललाई बीचबाट चिर्दै गाडी हुँइकियो । यस बेला त्रिशूली छुट्टिएको थियो क्यार ! विस्तारै धर्तीले कालो पछ्यौरी ओढ्दै थ्यो । पर टाढा विशाल नदी देखियो । काली गण्डकी र त्रिशूली एकाकार भएपछि नारायणी (गण्डकी) बन्दो रहेछ । नारायणी नदी झन् भयङ्कर स्वरूप लिएर सुसाइरहेकी थी । झिसमिस अँध्यारोमा नारायणी नदी पार गरियो ।

त्यसपछि ठाउँठाउँमा फाट्टफुट्ट घर तथा वस्ती बसेका देखिन्थे । कतै झाडीयुक्त जङ्गल त कतै विशाल फाँटहरू छिचोल्दै बस आफ्नै रफ्तारमा कुदिरह्यो । भित्रपट्टि अगाडि भिसिडी बजाइराखेको थ्यो । यात्रुहरू कोही निदाएझैँ शान्त देखिन्थे । कोही फिल्मी गीतहरू सुन्दै दृश्यमा आँखा गाडिरहेका थे ।

म घरीघरी बाहिरको गोलाकार क्षितिजतिर आँखा तन्काउँथेँ । धमिला देखिने तर फिल्मको रिलझैँ निरन्तर पछाडि हुत्तिरहने आकृतिहरू हेर्थेँ । घरीघरी काँचको पर्दाभित्र भइरहेका प्रेमालापका दृश्य र नग्न नृत्यहरू हेर्थेँ । दृश्य हेरेर मात्र मैले श्रव्यको पनि आनन्द लिनुपर्ने यो बाध्यता ! ओहो ! मेरो जीवनमा श्रव्य पूर्णतः निषेधित भएको पनि पाँच वर्ष बितिसकेछन् !

प्रकृतिका विविधतातुल्य मनोरम छटा र रङ्गीन दृश्यहरूले कता हो कता मेरो मनमा आनन्ददायी भाव सञ्चार गराउँछन् । 

कति हेर्नु ती उत्ताउता नृत्य ! हिरो–हिरोइनका अतिरञ्जित प्रेमालापका दृश्यहरू । त्यो भन्दा त प्रकृतिका विविधतातुल्य मनोरम छटा र रङ्गीन दृश्यहरूले कता हो कता मेरो मनमा आनन्ददायी भाव सञ्चार गराउँछन् । कविहृदयका लागि प्रकृतिभन्दा महान् फिल्म र आनन्दको स्रोत अरू के हुन सक्छ ?

अन्धकारको जालो धर्तीमा छपक्कै बसेको थ्यो । रातको समय हुनाले होला तराईको लू बहने फाँटमा बगिरहँदा पनि शान्त–शीतल अनुभूति भइरह्यो । तीव्र गतिमा सललल बगिरहँदा बसको झ्यालबाट सिरिरिरी पवन भित्र छिरिरह्यो, जसले निरन्तर मलाई स्पर्श गरिरह्यो । स्वच्छ हावामा भएको प्राणदायी अक्सिजन भरपुर फोक्सोभरि भर्दै म मस्त आनन्दमा डुबिरहेँ ।

रातको दश बजे कपिलवस्तुको जयनगरमा पुगेपछि बस घ्याच्च रोकियो । यात्रुहरू फटाफट बाहिर निस्के । खाना खाने साइत रहेछ यो । साथीले मलाई खानाको इशारा गर्दै बाहिर झर्यो। म पनि फूर्तिसाथ ओर्लिएँ । गोरुसिङ्गे भन्दा रहेछन् यो ठाउँलाई ।

साथीले भात लियो । मैले दुइटा रोटी । सुख्खा रोटी भट्टीमा उसिनेका । साह्रै चाम्रा रहेछन् ! 

नजिकैको होटलभित्र यात्रुहरू टम्म भए । कतिलाई मलमुत्र त्याग गर्नुको चटारो पर्यो । कतिलाई भोको पेट भर्नुको हतारो । कतिले टेबुलभरि मासु–भात र नाना परिकार बुत्याउन थाले । कतिले चाहिँ रोटी चपाउन थाले । साथीले भात लियो । मैले दुइटा रोटी । सुख्खा रोटी भट्टीमा उसिनेका । साह्रै चाम्रा रहेछन् !

खाइसकेर जब काउन्टरमा पुगेँ, तब पो म झसङ्ग भएँ । एउटा रोटी खाए पनि सय रूपियाँ, दुइटा वा छवटा खाए पनि उति नै तिर्नुपर्ने रहेछ ! मनमनले भन्यो, थुइक्क नेपाल ! अनियन्त्रित महङ्गी र मनोमानी ढङ्गले पैसा असुल्ने बजार नीति देख्दा म टाउकोमा हात राख्न बाध्य भएँ । यसले गर्दा ठूला–ठालु वा धनी भनाउँदालाई फाइदै फाइदा भए पनि हामीजस्ता गरिब–गुरुवा चाहिँ हदैसम्मको मारमा पर्ने गरेका छन् । आखिर केही उपाय नलागेपछि म चुपचाप पैसा तिरेर सिटमा फर्किएँ । साथीसँग गुनासो पोख्दै ।

आज मोबाइल, कम्प्युटरजस्ता साधन र फेसबुकजस्ता इन्टरनेट सामाजिक सञ्जालहरू मान्छेको हरबारका साथी बन्न पुगेका छन् ।

चारैतिर बलिष्ठ अन्धकारको साम्राज्य छ । बाहिरको ठाउँ–ठहर ठम्याउनै मुस्किल । मलाई निद्रा पनि लागेन । मोबाइलमा फेसबुक खोलेर मन बहलाउने चेष्टा गरेँ । तर नेटवर्क प्रोब्लम देखियो । प्राविधिक चमत्कारकै उपज मान्नुपर्छ । आज मोबाइल, कम्प्युटरजस्ता साधन र फेसबुकजस्ता इन्टरनेट सामाजिक सञ्जालहरू मान्छेको हरबारका साथी बन्न पुगेका छन् । हेर्दाहेर्दै संसार कति खुम्चिसकेछ ! एउटा पर्दाभित्रै ब्रह्माण्ड अट्ने भइहालेपछि संसारको यस्तो संकुचनसँगै मान्छेको भावना र हृदयको परिधि पनि संकुचित हुँदै गएको आभास पाउन सकिन्छ ।

साढे दुई बजेतिर कोहलपुर पुगिएछ । यतिबेला मलाई निद्रा देवीले लट्ठ्याइसकेकी थिन् । सारा अङ्गहरू शिथिल भएर निद्रा देवीको काखमा विश्राम लिन हड्बडाइरहेका थे । नभन्दै म कति बेला भुसुक्क निदाएछु !

अलिअलि तन्द्रावस्थामा छँदा बस फेरि घ्याच्च रोकियो । आँखा खोलेर बाहिर चिहाएँ । कम्ब्याड ड्रेस लगाएका आर्मीहरू गाडीभित्र र बाहिर खानतलासी गर्न थाले । कर्णालीको चिसापानी पुगिएछ क्यारे ! दुई–तीन जना आर्मीले गाडीभित्र प्रवेश गरी एकेक झोला छाम्दै र एकेक अनुहार नियाल्दै गरिसकेपछि बस पुनः स्टार्ट भयो ।

मलाई कर्णाली हेर्ने उत्कट इच्छा जागेर आयो । तर अन्धकारले बीचमा बाधा हाल्न खोजिरह्यो । एकैछिनमा झिसमिस उज्यालोमा कर्णाली पुल तरियो । धमिलो उज्यालोमा धमिलो कर्णाली मलिन–मलिन स्वरूपमा सुस्त बेगले बगिरहेकी थी । वारिपारिका सबै दृश्यहरू मलिन देखिए ।

पुल पार गरिसकेपछि गाडी स–साना बुट्यानयुक्त झाडीभित्र छिर्यो । एक नजर घडीका सुईतिर ढल्काएँ । बिहानको साढे चार भएको रहेछ । धर्ती, प्रकृति र यात्रुहरू सबै निदाएका देखिए पनि समयचाहिँ निदाएको देखिएन । यही जागृत समयले त हो नि, दिन ढल्काउँछ, रात बोलाउँछ । फेरि रात ढल्काउँछ र प्रभात ल्याउँछ ।

राम्ररी उज्यालो भइसक्दा बस कैलालीका फाँटहरूबीचबाट गुड्न थाल्यो । खेतालाहरू बिहानैदेखि जहानसहित रोपाइँ गरिरहेका देखिए । कोही राँगा जोतिरहेका छन्, कोही कोदालीले धर्ती खनिरहेका । कोही वियाडमा बेर्ना उखेलिरहेका त कोही कुलो काटेर खेतमा पानी लगाइरहेका । हुस्सुले चारैतिर डम्म ढाँकेको छ । ठाउँठाउँमा खर, काठ तथा माटोबाट निर्मित स–साना झोप्राहरू देखिए । कतैकतै आधुनिक पक्की घरहरू पनि ।

यस्तै दृश्यहरू हर्दाहेर्दै बिहानको छ बजिसकेछ । अत्तरिया आइपुगेर केही छिनका लागि गाडी रोकियो । अब मैले त्यो महेन्द्रनगर जाने नयाँ र रमाइलो बससँग छुट्टिएर पहाडतिर जाने अर्को बसमा बस्नु छ तुरुन्तै । साथीको सहयोगमा बस चेन्ज गरियो । अनि साथीसँग पनि छुट्टिएर पुरानो र थोत्रो गाडीमा म पहाडतिरको उकालो सपनाको यात्रामा निस्किएँ ।

पुलको अगाडि सूचना लगाइएको थ्यो । सूचनाको आशयले भनिरहेथ्यो– पुलको डँडाल्नुले सीमित भार मात्र थाम्न सक्ने अर्थात् पुल जीर्ण अवस्थामा रहेको छ ।

भीमदत्त पन्त मार्ग हुँदै पहाडतिर जाने गाडी सालको जङ्गलबीचबाट हुँइकियो । त्यतै कतै बाटोको दायाँ छेउतिर भीमदत्त पन्तको सालिक देखियो । केही छिनमा एउटा खोला पार गर्नुपर्ने भयो । पुलको अगाडि सूचना लगाइएको थ्यो । सूचनाको आशयले भनिरहेथ्यो– पुलको डँडाल्नुले सीमित भार मात्र थाम्न सक्ने अर्थात् पुल जीर्ण अवस्थामा रहेको छ । चस्स मुटुमा डर पस्यो । बसभित्र आधा जति सिट खाली थे । ड्राइभरको चलाखीले होसियारीसाथ विस्तारै पुल पार गर्यो । धन्न बाँचियो भन्ने जस्तो आश पलाएर आयो ।

घुम्तीहरू छिचोल्दै बस उकालो जङ्गलतिर लाग्यो । अब साँच्चैको स्वर्गतिर यात्रा हुन थालेको मान्नुपर्छ । प्राकृतिक मनोरम छटाहरूले भरिपूर्ण दृश्य हेर्दै, झ्यालबाट मोइलमा क्लिक फोटा खिचेर ती दृश्यहरू कैद गर्दै म उकालोतिर बगिरहेँ । पानी बग्ने चीज हो, प्राकृतिक रूपमा त्यो ओरालोतिर मात्रै बग्छ । बस पनि बगिरहेकै छ आफ्नो मार्गमा, त्यो ओकालोतिर पनि बग्छ । किनभने यो सब कृत्रिमताको चमत्कार हो । मानव–मस्तिष्कको उपादेयता हो ।

हरित धर्तीमा बिहानको शान्त र मनमोहक वातावरण छ । घुम्तीहरू छिचोल्दै माथिमाथि लेकतिर बग्नु छ, जहाँ बादलका कञ्चन फूलहरू हावामा उन्मुक्त उडिरहेका हुन्छन् । यसरी बगिरहँदा म आफैमा दङ्गदास भएँ । मानौँ, म आनन्दको गङ्गामा शयर गरिरहेको छु । कहिल्यै यस्तो मनोरम अनुभूतिमूलक यात्रा गर्ने सौभाग्य जुरेको थिएन ।

जतिजति माथि लेकतिर चढ्दै गयो, उति नै तलतल तराईका फाँटहरू सुन्दर र रमाइला देखिन थाले । विशाल फाँटका बीच–बीचमा सानाठूला नदीहरू नागबेली पर्दै बगिरहेका देखिए । टाढातिर भने कुहिरो र हुस्सुले डम्म ढाँकेर पर्दा हालिदिएको थ्यो । माथिबाट तल हेर्दा यस्तो लाग्थ्यो– आकाश पनि त्यतैतिर ओर्लदै गएर धर्तीमा पुगेर टक्क अडेस लागेको छ । मानूँ, म कुनै विशाल रङ्गमञ्चको एउटा सिटमा बसेर प्रकृतिको लिला–नाटक हेरिरहेको छु । सेती नदी ऐना जसरी बेलाबेला टल्कन्थी । अनि अर्को मोडसँगै ऊ लुकामारी गरेर जिस्काउँथी ।

साना–ठूला घुम्रिएका डाँडै डाँडाका थूम्काहरू । बीचबीचमा कुहिराका विशाल सेता फुन्नाहरू उठेर माथि आकाशतिर चढिरहेका ! यस्तो दृश्य हेर्दाको रोमाञ्चक अनुभूति शब्दमा वर्णन गर्न सकिँदैन ।

तराईको माथ्लो किनारदेखि उठ्न सुरु गरेका स–साना पहाडका थुम्काहरू क्रमैसँग माथि उत्तरतिर बढ्दै गएका देखिन्थे । पहाडका घुम्तीहरू पछ्याउँदै बस जतिजति माथितिर चढ्थ्यो, वरिपरिका डाँडाहरू पनि त्यति नै अग्लिँदै गएका देखिन्थे । अधिकांश मानवविहीन तर प्राकृतिक रूपले भरिपूर्ण लाग्ने यी स्वर्गीय डाँडाकाँडाको दृश्य जति हेरे पनि अघाउन सकिदैनथ्यो ।

सहजपुरको सल्लाडीमा टम्म भैँसी बोकेको एउटा ट्रक बीचबाटोमा अड्किरहेको थ्यो । तराईतिर झर्न लागेको ट्रक पेट्रोल सकिएर ठप्प भएछ । सल्लैसल्ला भएको त्यो घुम्तीयुक्त साँघुरो बाटोमा अन्य थप पाँच–छ वटा सवारीसाधन अड्कनु पर्याे । झण्डै आधा घण्टाको अवरोधपछि बल्ल जर्किनमा पेट्रोल बोकेर ल्याइएछ । अनि मात्र ट्रक चलेकाले बाटोको अवरोध हट्यो । यात्रा पुनः सुचारु भयो ।

एघार बजे डडेल्धुरा सदरमुकाम पुगेर खाना खाइयो । त्यसपछि एक बजेतिर खोड्पे पुगेर बस रोकियो । यो बैतडी सदरमुकाम जाने बसबाट ओर्लेर मैले श्रीभावरको धुरातिर लाग्नुपर्ने भो । एउटा जिप मिल्यो श्रीभावर जाने । यो मार्ग श्रीभारको लेकबाट मोडिएर फेरि लेकैलेक बझाङ सदरमुकाम जोडिएको छ । मैले आज श्रीभावर बसेर भोलि बिहानै खुट्टाको भर घरतिर लाग्नु छ ।

अनि धेरै समयअघि टेपमा सुनेको यो गीतको अंश मेरो मस्तिष्कमा गुन्जिन थाल्यो— ‘हपुर बझाङका धुरा बाटो छ खराब, ड्राइभर दादा गाडी चलाउँदा जन खाया सराप !’

हेर्दै रिँगाउने खालका भिराला लेकको टुप्पै–टुप्पा जिप कुदिरह्यो । बारबार घुम्ती र साँघुरा बाटा भेटिन्थे । मनमा डर पनि लाग्थ्यो । अनि धेरै समयअघि टेपमा सुनेको यो गीतको अंश मेरो मस्तिष्कमा गुन्जिन थाल्यो— ‘हपुर बझाङका धुरा बाटो छ खराब, ड्राइभर दादा गाडी चलाउँदा जन खाया सराप !’

खोड्पेबाट हिँडेको डेढ घण्टामा श्रीभार आइपुगियो । यो लेक धेरै चिसो हुन्छ । बर्खामा त कुहिरोले ढाँकिएर झरीसँगै झन् अँध्यारो–कालो हुन्छ । म भाइको पर्खाइमा बसेँ । मेरो झोला र सामान बोक्नलाई घरबाट एकजना भाइ श्रीभावरसम्म आउँदै थ्यो । किनभने श्रीभावरबाट ७–८ घण्टाको ओकाली–ओराली पैदल हिँडेर मात्र घर पुग्न सकिन्छ ।

भोलिपल्ट बिहानको छ नबज्दै भाइ र म त्यो चिसो र ओसिलो लेक पछ्याउँदै विस्तारै ओरालो झर्न थाल्यौँ । आफ्नो गाउँका डाँडातिर दृष्टि दिएँ । हरित पहाडका टाकुराभरि कुहिरो रङमङाइरह्यो । आजको दिन पानी नपरेर स्वच्छन्द घाम लागिरह्यो । कहिलेकाही सूर्यले बादलको घुम्टो ओढ्दै लुकामरी खेल्थ्यो । मध्यान्हतिर हामी तल त्रिवेणीको कापमा अवस्थित वसन्तपुर बजार पुग्यौँ । काठ, टिन, ढुङ्गा–माटो प्रयोग गरी बनाइएका स–साना झोप्राहरूको यो सानो बजार झन् बाँझो बन्दै गएको जस्तो लाग्यो । तथापि एकाध पक्की भवन पनि बनेका रहेछन् ।

वसन्तपुरमा मेरा शुभचिन्तक मित्रहरू र पूर्व विद्यार्थी साथी तथा गुरुसमेत भेटिए । कतिपयलाई मैले लगेका किताब उपहारस्वरूप दिए । सबले मलाई अनौठो नजरले हेर्न थाले । म यो क्षेत्रमा राम्रै परिचित थेँ । म यही क्षेत्रको एउटा बिउँ पनि थेँ । आफ्नो ठाउँ र आफ्ना मान्छेसँगको भेट अवश्य नै रमाइलो लाग्छ ।

त्यहाँ खाना–नास्ता गरीसकेपछि हामी ढिकुल्लीको ओकालोतिर लाग्यौँ । पसिनाका धारा पुछ्दै ओकालो चढ्दा सल्लाडीको सिरिरिरी हावाले ठूलो मद्दत गरिरह्यो । तलतिर तीन नदी एकाकार भई धमिलो जामाडी सुसाइरह्यो, जसको वारिपारि फाँटभरि टम्म धान रोपिएको थ्यो । बाटोभरि आफन्त र साथीभाइहरू भेटिए । गफगाफ गर्दै रमाइलोसाथ त्यो उकालो काटियो ।

आफ्नो गाउँको सिरानैछेउको पातलमा पुग्दा झन् आनन्दविभोर भए म । सारा धर्ती हरियालीले छपक्क ढाँकेको छ । खेतका गह्रा–कान्ला सब खेतालाहरूका हातले जतनसाथ हरियो तन्ना ओछ्याइदिएका जस्ता देखिए । कतै–कतै रोपाइँ भइरहेको छ । रोपाहारहरू आफ्नै धुनमा मस्त छन्, व्यस्त छन् । अधिकांश भागमा धान रोपिसकिएको छ । मकैबारी फुल्न लागिरहेको छ ।

घरमा पुग्दा ढुङ्गा छ्यापेको र हिलोमैलो भएको आँगनभरि गाई–भैँसी उग्राइरहेका देखिए ।

आफ्नै गाउँमा त फर्किएको हुँ म । तर दुई वर्षको अवधिमै कस्तो–कस्तो अचम्म लागेर आयो ! मानूँ, म कुनै अपरिचित र सुन्दर गाउँमा प्रवेश गरेको छु । घरमा पुग्दा ढुङ्गा छ्यापेको र हिलोमैलो भएको आँगनभरि गाई–भैँसी उग्राइरहेका देखिए । मेरो आगमनसँगैँ ती सबै पशुले चनाखा कान बनाउँदै एकसाथ मैतिर हेर्न थाले । मानूँ, मलाई तिनले मौन स्वागत गरेका हुन् ।

ढुङ्गाको सिँढी चढेर म दैलोमा पुगेँ । घर अगाडिको भिरालो केराघारी हेर्दा त्यहाँ केरैकेराको पैह्रो फुटेको जस्तो अनौठो देखियो । मेरो अगाडि एउटा प्रकृतिको विशाल चित्र थ्यो, जसलाई म आफ्नै हो कि, हो कि झैँ गरी एकेक बुट्टा नियालिरहेथेँ । जब म माटोले लिपेको त्यो रातो र सानो घरभित्र छिर्न लागे, तब मैले आफूलाई अग्लो भएको पाएँ । तर म अग्लो भएको थिनँ, त्यो केवल मेरो भ्रम थ्यो । काठमाडौँका अग्ला ढोकासँग बानी परेको म आफ्नो घरको त्यो सानो ढोकामा एकाएक छिर्दा भ्रमित भएको थेँ । कुप्रो परेर जतनसाथ म भित्र छिरेँ, कतै टाउको नठोक्कियोस् !

घरमा बा–आमा सहित सबै रोपाइँमा गएका थे । सानी बैनी भतिजी स्वर्णकलालाई बोकेर टुप्लुक्क आइपुगी । चिने जसो न नचिने जसो गरी ट्वाल्ल मतिर हेर्न थाली । अनि एकैछिनमा मलाई ढोग गरी । मैले भाग्यमानी भएस् बैनी भन्दै उसको हातमा चकलेट राखिदिएँ । भतिजी, जसको नाम मैले काठमाडौँबाटै ‘स्वर्णकला’ राखिदिएको थेँ, आज ऊ आफ्नो नाम दिने अङ्कललाई पहिलोपटक देख्दै थी । ऊ मसँग डराउन थाली, चिन्न सकोस् कसरी !

झोला बिसाइसकेको भाइले घरभित्र केही खोज्यो । रोपाइँमा कल्यार (खाजा) लैजान भनी पकाएको पुरीमध्ये हाम्रो लागि पनि एक भाग राखिएको रहेछ । अनि कचौराभरि दूध र थालमा पुरी लिएर भाइले मेरो अगाडि राखिदियो । आफू कपाकप खान थाल्यो । मलाई यी सब खान मन भएन । अलिअलि चाखेर उसैलाई दिएँ । मेरो मन नानाथरी अनुभूतिले टम्म भरिएको थ्यो । न भोक, न प्यास । बस्, निगालोको नाङ्गो मट्टो (चटाइ)मा लेटेर म दिनभरिको थकानलाई विश्रान्ति दिन थाले । कताकता सानो स्वर्गभित्रै छिरेको अनुभूति भयो ।

साँझतिर सबै खेतालाहरू फर्किन थाले । भाउजू र बैनीहरू अलि हँसिलो र अनौठो मुहारमा मेरो अगाडि देखा परे । बुबा हिलोले लछप्पै भिजेर लखतरान भई आइपुग्नुभयो । मैले उहाँलाई खुट्टामा निहुरेर ढोग गरेँ । उहाँ न खुसी, न दुःखी, सायद भावुक बन्नुभएको थ्यो ।

आङमा भिजेका झुत्रा लुगा झुण्ड्याएर आमा अलि अँध्यारोमा आइपुग्नुभयो । जब मैले उहाँलाई पनि खुट्टामा निहुरेर ढोग गरेँ, तब ‘आइपुगिस् बाबु !’ भन्दै दूधे बच्चालाईझैँ मलाई अँगाल्दै रुन थाल्नुभयो । मेरो मन झनै भावुक बन्न पुग्यो । मैले अमालाई नरुन, बरु खुसी हुन अनुरोध गरे ।

परिवारका सबै सदस्यहरू मौरीको गोलाझैँ मेरो वरिपरि जम्मा भए । मैले काठमाडौँको सिटी सेन्टरबाट किनेर ल्याएको विभिन्न प्रकारका विदेशी चकलेट र मिठाई एकेक गरी बाडेँ ।

साँझमा धुँवाले कालो–खैरो भएको घरभित्र बत्ती बल्यो । अनि चुल्होमा आगो बल्यो । परिवारका सबै सदस्यहरू मौरीको गोलाझैँ मेरो वरिपरि जम्मा भए । मैले काठमाडौँको सिटी सेन्टरबाट किनेर ल्याएको विभिन्न प्रकारका विदेशी चकलेट र मिठाई एकेक गरी बाडेँ । सौर्यबत्तीको दुधिलो चहकसामु सबैको मुहार उस्तै हँसिलो र उज्यालो देखियो ।

आमा एउटा सुतीको धोती (पछ्यौरा) पैह्रेर खाना पकाउनतिर लाग्नुभयो । मैले ल्यापटप खोलेर तीजको भिसिडी बजाएँ । अनि सबैको अगाडि देखिने गरी राखिदिएँ । पहिलोपटक आफ्नै घरमा यस्तो फिल्म हेर्न पाएका सब दङ्गदास भए ।


राजेन्द्र तारकिणी
बैतडी, पुरर्चाैडी


(राजेन्द्र तारकिणी नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने प्रतिभाशाली लेखक हुन् । बैतडी, पुरर्चौडीमा जन्मेका राजेन्द्र पन्त तारकिणी हाल काठमाडौंमा रहेका सम्पादन हाउस नामक कृति सम्पादन सम्बन्धित संस्था चलाइरहेका छन् । यस निबन्धमा उनले आफ्नो जन्मघर र काठमाडौं बसाइसँग सम्बन्धित अनुभूतिलाई सजीव किसिमले प्रस्तुत गरेका छन् ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 87
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    87
    Shares