कल्यान ओझाको संस्मरण, छाता ओढेरै आन्दोलनमा सहभागी वासूदेव भाइसाब


लेखक : लेखापढी      ९ माघ २०७८, आईतवार २०:३९ मा प्रकाशित     
कल्यान ओझाको संस्मरण, छाता ओढेरै आन्दोलनमा सहभागी वासूदेव भाइसाब

वि.स. २०६२–०६३ सालको जनआन्दोलन, त्रिपक्षीय (जनता, सात दल एवम् माओवादी) आन्दोलनका क्रममा जनता भोकभोकै सडकमा उत्रिएका थिए । कञ्चनपुरको महेन्द्रनगरमा आन्दोलन उत्कर्षमा थियो । एक जना उमेरले साठी पुगेका वृद्ध प्रत्येक दिन आन्दोलनमा सडकमा छाता ओढेर सहभागी हुन्थे । पुलिसहरू आपसमा कुरा गर्दथे, “यो बुढालाई के नपुगेर आन्दोलन गर्न आएको होला । पुलिसको आँखाको तारो बन्न, झन छाता ओढेर ।” ती बुढा मानिस कुनै राजनीतिक दलका नेता नभएर वामपन्थी बुद्धिजीवी वासूदेव भाइसाब थिए । अधिकृत स्तरको जागीरबाट निवृत्त एक व्यक्ति समाजको आँखामा सम्पन्न परिवारको व्यक्ति । समाजमा उहाँले कहिल्यै पनि आफ्नो सम्पन्नताको परिचय दिन चाहनु भएन । हेर्दा हजुरबा सरहको मान्छेलाई पनि के पक्रनु भनेर पुलिस पनि हेरेको हेर्यै भयो । राजनीतिक पार्टीका कैयन नेताहरू वनबसाको होटलमा मन्सुलीको भात खाएर आन्दोलनको बारेमा बहस चलाइरहेका हुन्थे । पत्रिकाले दिनका दिन व्यानर न्युज बनाएर लेख्थ्यो । आज यति प्रहरीको हिरासतमा । दिनका दिन अखबारको समाचार यस्तै हुन्थ्यो ।

सामाजिक संघसंस्थामा समेत क्रियाशील पदमा रहेका व्यक्ति, बौद्धिक र साहित्यिक व्यक्तित्व, मातृभाषाका कट्टर समर्थक लेखक, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयय आन्दोलन समितिका संयोजक तथा अन्य कतिपय लेखकको जानकारीमा नरहेको पदमा समेत क्रियाशील भएका व्यक्तित्व वासूदेव भट्टले कहिल्यै पनि आफ्नो थर भट्ट नलेखेर भाइसाब लेखेको पाइन्छ । आफू भारतमा अध्ययन गरिरहेको बेलामा आफूसँगका साथीभाइहरूले आफूलाई भाइसाब भनेर सम्बोधन गरेकोले यो सम्बोधन मन परेर आफ्नो उपनाम भाइसाब लेख्न थाल्नुभयो । उहाँको योगदानको समाजले अध्ययन गर्नुपर्दछ । हाम्रो समाजमा उखान छ, “जिउँदो छन्ज्या माण न साण, मर्यापाछा डाड ।” हामीले स्रष्टालाई जीवित कालमै मूल्यांकन गर्नुपर्दछ, दिवंगत भएपछि सम्झनु त छँदैछ । उहाँ महाकाली साहित्य संगमको अध्यक्ष हुँदा मैले पनि सचिव भएर काम गर्ने अवसर पाएको थिएँ । दुखका साथ भनिरहनु परेको छ, अब वासूदेव भाइसाब हाम्रा बिचमा हुनुहुन्न । अन्त्यमा, तीता श्रद्धाञ्जलीका शब्दहरू मात्र बाँकी रहे, हार्दिक श्रद्धाञ्जली भाइसाब सर ।

(वासूदेव भाइसाब पश्चिम नेपालका एक सशक्त हस्ताक्षर, लोकसाहित्यका अनुसन्धानकर्ता हुनुहुन्थ्यो । उहाँको निधन भएको १५ दिनको अवसरमा उहाँसँगै काम गर्नुभएका पश्चिम नेपालमा प्रसिद्ध स्रष्टा कल्यान ओझाको स्मृति लेख प्रस्तुत गरेका छौं ।)