आज माघे सङ्क्रान्ति देशभर मनाइँदै


आज माघे सङ्क्रान्ति देशभर मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

आज कालीगण्डकीका रिडी,राम्दी,त्रिवेणी,देवघाट, त्रिशूली,वाग्मती, इन्द्रावती, लगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्दछन् ।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबिच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने चलन छ ।