छलिया नाचको पुस्तान्तरण विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न


छलिया नाचको पुस्तान्तरण विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

कञ्चनपुर । १ वैशाख
सुदूरपश्चिमाञ्चल प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र महाकाली साहित्य संगमको आयोजनामा छलिया नाचको पुस्तान्तरण प्रशिक्षण २०७७ चैत २७ देखि २९ सम्म महेन्द्रनगर, कञ्चनपुरमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन समारोहको शुभारम्भ प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मंगलाचार, सगुन र बडाईसँगै बत्ती बालेर गरे । संगमका अध्यक्ष हरिशप्रसाद जोशीको अध्यक्षतामा भएको समारोहको सञ्चालन महासचिव भवानी चन्दले गरेका थिए । उदघाटन समारोहमा हरि रावल, गोविन्दसिँह बिष्ट, गणेश चन्द, चिना नेपाली, प्रपन्नाचार्य हरि आचार्य, कर्णबहादुर चन्दले शुभकामना दिएका थिए भने सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत धर्मराज जोशीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

सो समारोहमा मधु हमाल, गीता आउजी, पार्वती कलौनी, देवकी भट्ट, विश्वेश्वरी बिष्ट, सुनमती सौका र दीपा तिवारीलाई भेटौलो उपहार दिइएको थियो । महाकाली भेगमा चैतका महिना दाजुभाइले दिदीबहिनीलाई भेटेर उपहार दिने चलनलाई यसरी भेटौलो दिएर प्रतिकात्मक रुपमा सांस्कृतिक परम्पराको निरन्तरतालाई बोध गराइएको थियो ।

कार्यक्रमको पहिलो दिन पहिलो सत्रमा महाकाली साहित्य संगमका अध्यक्ष हरिशप्रसाद जोशीले छलिया नाचको परिचय, नाचको महत्व , समस्या र समाधानका उपाय बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा हजारीसिंह पुजाराले छलिया नाचको इतिहास र वर्तमान अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने तेस्र्रो सत्रमा चिना नेपालीले छलिया नाचका चरण बारेमा जानकारी दिएका थिए ।

दोस्रो दिन चैत २८ गतेमा पहिलो सत्रमा लीलाधर बास्कोटाले छलिया नाचका बाजागाजा र सुरताल बारे आफ्ना विचार राखेका थिए, दोस्रो सत्रमा छलिया नाचका बारेमा हरिशप्रसाद जोशीले जानकारी दिएका थिए । कार्यक्रमको अन्तमा नाचको प्रस्तुति गरिएको थियो ।

चैत २९ को कार्यक्रममा चिना नेपालीले सुदूरपश्चिमको प्रसिद्ध छलियाका बारेमा, लीलाधर बास्कोटा र मोहन आउजीले नाच, बाजा, ताल, पोशाकका साथै आवश्यक सामग्रका बारेमा जानकारी दिनाका साथै प्रयोगात्मक रुपमा प्रस्तुति गरिएको थियो । सोही दिन समापन समारोहको अध्यक्षता संगमका अध्यक्ष हरिशप्रसाद जोशीले गरेका थिए । समापन समारोहका प्रमुख अतिथि सुप विश्वविद्यालयका डीन डा. मुकुन्दप्रसाद कलौनी थिए ।

संगमले प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, सचिव रघुराज बिष्ट, शाखा अधिकृत धर्मराज जोशी लगायत प्रशिक्षकलाई मायाको चिनो प्रदान गरेको एवम् सहभागी २० जनालाई प्रमाणपत्र प्रदान गरेको थियो ।