शिवरात्रिको लागि सम्पूर्ण तयारी पूरा, १० हजारको सुरक्षाकर्मी परिचालन: मास्कबिना प्रवेश निषेध


शिवरात्रिको लागि सम्पूर्ण तयारी पूरा,  १० हजारको सुरक्षाकर्मी परिचालन: मास्कबिना प्रवेश निषेध

काठमाडौँ-  पशुपतिमा शिवरात्रिको लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषले आज मंगलबार शिवरात्रिको तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलन गरी दिएको हो। कोषले शिवरात्रिमा करिब सातदेखि आठ लाखको दर्शनार्थी आउने अनुमान गरेको छ ।

पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ। मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, पश्चिमी ढोकाबाट एक लाइन र दक्षिणी ढोकाबाट दुई लाइन गरी चारवटा दर्शन लाइन बाहिरबाट रहने जनाइएको छ ।

सुरक्षाका लागि १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जनाइएको छ । जसमध्य सात हजार नेपाल प्रहरी तीन हजार सशस्त्र प्रहरी हुनेछन्। नेपाल स्काउटका समेत गरी करिब चार हजार स्वयंसेवक पनि परिचालन हुने कोषले जनाएको छ ।

कोरोना भाइरसको महामारीलाई नियन्त्रणका लागि पशुपति दर्शन गर्दा कोषले मास्क अनिवार्य गरेको छ। मास्कविना भक्तजनलाई मन्दिर प्रवेशमा निषेध गरेको छ। कोषका अनुसार शिवरात्रिमा साधु सन्त तीन हजारदेखि ३५ सयको सङ्ख्यामा आउन सक्नेछन्। पैसा तिरेर पूजा गरिने व्यवस्था बन्द गरिने कोषले जनाएको छ। पूजा गर्न भित्र जाने पासको व्यवस्था पनि छैन।

सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ३० वटा संस्थाहरूले सेवा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। मन्दिरनजिकै डाक्टर, नर्ससहितको औषधी र बेडसहितको शिविर नेपाली सेनाको रहनेछ। आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था गरिएको बताइएको छ ।