कपिलवस्तुका माओवादी नेता पाण्डेलाई उनकै श्रीमतीले हत्या गर्न लगाएको खुलासा, श्रीमती सहित एघार जना पक्राउ


कपिलवस्तुका माओवादी नेता पाण्डेलाई उनकै श्रीमतीले हत्या गर्न लगाएको खुलासा, श्रीमती सहित एघार जना पक्राउ

काठमाडौँ- माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य नेता दीपक पाण्डेको गोली हानी हत्या गर्ने योजनामा उनकै श्रीमती संलग्न रहेको खुलेको छ। ३४ वर्षीय पाण्डेलाई जेठ ५ गते राति गोली हानिएको थियो। 

उक्त घटनाका मुख्य योजनाकार ओमप्रकाश यादव र महिमा पाण्डे रहेको खुलेको छ। श्रीमानलाई मार्न महिमा पाण्डेले यसपटक र पहिले पनि विभिन्न मानिस प्रयोग गरिरहेको पत्ता लागेको छ। यो घटनामा श्रीमतीसहित संलग्न ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

यादवले आफूले घटनामा प्रयोग गरिएको लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकल चलाएका थिए। मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक-एक गोली हानेका थिए।

पखियाले कटुवा पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए भने मुसलमानले अटोमेटिक पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए। 

प्रहरीका अनुसार उनीहरू तीन जनाको साथबाट हतियार, गोलीहरू बरामद भएका छन्। कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार यादवको साथबाट पेस्तोल, म्यागजिन, २२ म्याग्नमको ६८ राउन्ड गोली बरामद भएको छ।

यस्तै, मुसलमानको साथबाट मेड इन युएसए पेस्तोल एक थान, म्यागजिन र ८ राउन्ड गोली बरामद भएको छ। उनले पाण्डेलाई मार्न यादवबाट एक लाख रूपैयाँ लिएका थिए। 

डिएसपी भण्डारीका अनुसार ओमप्रकाश र दीपक पाण्डेबीच मनमुटाव पाण्डेकी श्रीमती महिमा पाण्डेबीचको अनैतिक सम्बन्धका कारण भएको हो। 

त्यो सम्बन्ध थाहा पाएयता विगत पाँच वर्षदेखि ओमप्रकाश र दीपकबीच मनमुटाव थियो।  

यो सम्बन्धबाट दीपक चिढिएपछि महिमाले नै पटक-पटक उनलाई मार्ने योजना बनाउन थालेको देखिएको छ।

‘महिमाले दीपकलाई मार्न पक्राउ परेका यी सात व्यक्तिहरूलाई दुई-तीन वर्षदेखि प्रयोग गर्दै आएको देखिएको छ, पटक-पटक नै मार्न बैना दिएको र असफल भएको देखिन्छ,’ भण्डारीले भने, ‘अन्तिम पटकको प्रयास सफल भएको देखिएको छ।’

पक्राउ परेका सबै माथि थप अनुसन्धान गरि कारबाही गरिने जनाएको छ |
https://lekhapadhi.com/2021/05/20/news-432/