एसिया कपका लागि सन्दीप लामिछाने पाकिस्तान प्रस्थान


लेखक : लेखापढी      ११ भाद्र २०८०, सोमबार १४:२८ मा प्रकाशित     
एसिया कपका लागि सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

काठमाडौं – एसिया कप–२०२३ का लागि पाकिस्तान जान लागेका सन्दीप लामिछानेलाई सोमबार बिदाइ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको हो । 

सन्दीप आज ११ः२० बजे कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान जाँदै छन् ।

एक नाबालिगको बलात्कार आरोप मुद्दाको पेसी यही भदौ २१ गतेलाई तोकिएपछि सन्दीप पाकिस्तान जाने निश्चित भएको हो । उक्त मुद्दामा आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो ।

गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।