भुवन केसीले १० करोड क्षतिपूर्ति मागको मुद्दामा साम्राज्ञी शाहको जित,


लेखक : लेखापढी      २८ असार २०८०, बिहीबार ०५:०६ मा प्रकाशित     
भुवन केसीले १० करोड क्षतिपूर्ति मागको मुद्दामा साम्राज्ञी शाहको जित,

काठमाडौँ- जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।

बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ।

साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए।

साम्राज्ञी शाहका वकिल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बुधबारै अन्तिम बहस सकिएको र आफ्नो पक्षले मुद्दा जित्ने गरी फैसला आएको बताए।

‘अन्तिम बहस आज भएको थियो। न्यायाधीश वासुदेव पौडेलले भुवन केसीले लगाएको मुद्दामा उनको दाबी नपुग्ने फैसला गर्नुभएको छ,’ उनले भने, ‘फैसला हाम्रो पक्षमा आएको छ। यसको पूर्णपाठ आउन भने समय लाग्ने अदालतले हामीलाई जानकारी गराएको छ।’

सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै साम्राज्ञी शाहले तीन वर्षअघि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन्।

साम्राज्ञीले आफ्नो गाली-बेइज्जती गरेको भन्दै भुवनले उनीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दिएका थिए।सामाजिक सञ्जालबाट अनुभव सुनाउँदा मुद्दा अदालतसम्म पुगेको स्मरण गर्दै उनले चलचित्र क्षेत्रमा आफूले भोगेको अनुभव सुनाउँदा समस्या आएको बताएकी छन् । “मैले मेरोचलचित्र यात्राबारे अनुभव साझा गरेको थिएँ, जुन तितो मिठो अनुभव थियो । सायद अरूको पनि यस्तै थियो कि ? तर कसैलाई हानी/चोट दिने मेरो उद्देश्य थिएन,” उनी अगाडि थप्छिन्, “मेरो उद्देश्य सबै युवालाई सन्देश दिनु थियो, तपाईंले आफ्नो सपना हासिल गर्न सक्नुहुन्छ । तर, त्यहाँ रहेका रक्तपिपासुहरूबाट बच्नुपर्छ ।”  “कसैले आफ्नो अनुभव सुनाउन पनि नपाउने यो निकै डरलाग्दो प्रवृत्ति छ । अब केही कुराले मलाई आश्चर्यचकित बनाउँदैन ।” 

साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन्। उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।