काठमाडौँ – गत बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको ६९औं जन्मदिन मनाइएको थियो । वैशाख २७ मा वैवाहिक वर्षगाँठ थियो । यी दुवै अवसरमा सयौँ शुभचिन्तकले शुभकामना टक्र्याएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिनको अवसरमा स्वास्थ्यलाभको कामना गर्दै सानो कार्यक्रम गरिएको थियो ।
सबैको कामना थियो, सीता दाहालको स्वास्थ्यलाभ । दाहालले जन्मदिनमा केक खुवाएका थिए भने वैवाहिक वर्षगाँठमा दाहालले सीतालाई चुम्बन गरेर माया साटेका थिए । सँगै जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउने यो नै अन्तिम अवसर बन्यो दाहालका लागि ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य सुधार भइरहेको थिएन । त्यही रोगका कारण लामो समय ओछ्यान परेकी उनको बुधबार बिहान निधन भएको छ । २०७६ कोराना महामारी भइरहेको बेला प्रधानमन्त्री दाहालले कान्तिपुरसँग भनेका थिए, ‘सीता म्याडमको स्वास्थ्य अवस्थालाई हेर्दा म मानसिक रूपमा तयार छु ।’ उनको संकेत थियो अब सीताको स्वास्थ्य सुधार हुँदैन । जतिबेला जे पनि हुन सक्छ । इकान्तिपुरलाई यो बताएको चार वर्षसम्म सीताले दाहाललाई साथ दिइन् । अब भने उनी सदाका लागि बिदा भएकी छन् । प्रधानन्त्री दाहालले पत्नी मात्रै होइन, जीवनकै ‘प्रमुख सल्लाहकार’समेत गुमाएका छन् ।
२०७४ मा छोरा प्रकाशको अल्पायुमै निधन भएपछि सीताको स्वास्थ्य झन् कमजोर हुँदै गएको थियो । बुवाको पदचाप पछ्याउँदै अघि बढेका प्रकाशको निधनले उनीमाथि बज्रपात भएको थियो । बुवाको सफलतापछि प्रकाशलाई राजनीतिमा अघि बढाउने सीताको सपना थियो । जुन साढे पाँच वर्षअघि अवसान भइसकेको छ ।
सीता कम बोल्ने सरल र सौम्य स्वभावकी थिइन् । कम बोल्ने तर पार्टी र नेतृत्वको हितमा बोल्ने उनको बानीले नेता तथा कार्यकर्तालाई गहिरो प्रभाव पारेको छ । माओवादी उपाध्यक्ष पम्फा भुसालले सीता जहिले पनि पार्टीको हितमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले एउटा इतिहास कोरेर गएको बताइन् । ‘पार्टीको सार्वजनिक राजनीतिमा त्यति आउनु भएन । तर के गर्दा पार्टीको हित हुन्छ भन्ने उहाँले ठूलो योगदान दिनुभएको छ’ उनले भनिन्, ‘उहाँ अध्यक्ष प्रचण्डको जीवनसाथी मात्र होइन, राजनीतिक सारथी पनि हो । प्रचण्डको खास सल्लाहकार उहाँ नै हो ।
सीताको सहयोगबिना करिब साढे तीन दशकदेखि पार्टी नेतृत्वमा रहन दाहाललाई सम्भव थिएन । औपचारिक शिक्षा सामान्य भए पनि उनले माओवादी आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउन ठूलो भूमिका खेलेकी थिइन् । दाहालको राजनीतिक जीवनको सुरुवाती चरणमा उनले चार छोराछोरी हुर्काउँदै अघि बढेकी थिइन् । माओवादीले सशस्त्र युद्ध सुरु गर्दा उनी दाहालसँगै हिँडेकी थिइन् ।
पार्टीमा अन्तरसंघर्ष चर्को हुँदा सीताले दाहाललाई सम्झाएकी थिइन् । ‘पार्टीमा अन्तरसंघर्ष हुन्छ, झगडा हुन्छ । सम्हालेर जानुपर्छ,’ उनले दाहाललाई सम्झाउँथिन् । २०६१ मा दाहाल र बाबुराम भट्टराईबीच अन्तरसंघर्षले चरम रूप लिएका बेला समाधानका लागि उनले पहल गरेकी थिइन्, जतिबेला भट्टराई रोल्पामा माओवादी सेनाको घेराबन्दीमा थिए । दाहालनिकट एक नेताले सीताको त्यतिबेलाको भूमिका यसरी सुनाए, ‘फरक विचार राखे पनि बाबुरामजी पनि माओवादी नै हो । जनसेनाले कारबाही गर्न सक्छन्, सुरक्षा गर्नुपर्छ ।’ त्यसपछि माओवादी सेनाले भट्टराईलाई सुरक्षा दिएर राखेका थिए ।
पूर्वमाओवादी नेतृ एवं सीताकी सहकर्मी हिसिला यमीले सीता सशक्त महिला भएको बताइन् । ‘जस्तोसुकै अवस्थालाई सामना गर्न सक्ने महिला हो,’ उनले भनिन्, ‘हामीले सशस्त्र युद्धमा सहकार्य गर्दा अन्तरसंघर्ष भए पनि मैत्रीपूर्ण सम्बन्ध रह्यो ।’
सशस्त्र युद्धको बेला होस् या शान्तिपूर्ण राजनीतिमा दाहालले कहिल्यै शक्तिको दुरुपयोग नगरेको उपाध्यक्ष भुसालले बताउँछिन् । ‘सामान्य जीवनमा रहेर पार्टी राम्रो बनाउने ध्यान उहाँमा थियो,’ भुसालले भनिन्, ‘सीताले सैद्धान्तिक कुराभन्दा के गर्दा राम्रो हुन्छ व्यवहारिक सल्लाह दिनुहुन्थ्यो ।’ दाहालले पनि सशस्त्र युद्ध र शान्तिपूर्ण राजनीतिमा आएपछि अन्तिम सल्लाह सीताकै मान्दै आएका थिए । ‘अध्यक्ष कहिलेकाहीँ भावनामा बग्दा सीताले सही मार्गमा ल्याउनुहुन्थ्यो, किनकि उहाँको बुझाइ व्यवहारिक थियो,’ यमीको भनाइ छ ।
छोरा प्रकाश गुमाएको साढे पाँच वर्षपछि पत्नी सीताको निधनले प्रधानमन्त्री दाहाललाई अर्को बज्रपात थपिएको छ । शोकलाई शक्तिमा बदल्ने सिद्धान्त अँगालेका दाहाललाई फेरि पनि शक्ति आर्जन गर्ने क्षमता मिलोस् ।