नर्सहरूलाई बेलायत पठाउने बाटो खुल्यो, एक महिनाभित्र आवेदन खुल्ने


लेखक : लेखापढी      २० असार २०८०, बुधबार १५:१२ मा प्रकाशित     
नर्सहरूलाई बेलायत पठाउने बाटो खुल्यो, एक महिनाभित्र आवेदन खुल्ने

काठमाडौँ- नेपाली नर्सहरूलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाउने प्रक्रिया अघि बढेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै बेलायतमा नर्स पठाउने बाटो खुलेको हो । 

मन्त्रिपरिषद्बाट प्रोटोकल पारित भएसँगै दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राजीव पोखरेलले प्रोटोकल पारित भएसँगै काम धमाधम अगाडि बढेको बताए । 

अबको एक महिनाभित्रमा अनलाइनमार्फत आवेदन आह्वान गरिने उनको भनाई छ । ‘प्रोटोकलमा साइन भएसँगै धमाधम सिस्टम बनाउने काम भइरहेको छ । एक महिनाभित्रमा आवेदन माग गर्छौँ । जति सक्दो चाँडो प्रक्रिया अगाडि बढाउँछौँ,’ पोखरेलले भने ।

एक महिनाभित्रमा कम्तीमा १०० जना नर्सलाई बेलायत पठाउने गरी अनलाइन मार्फत आवेदन आह्वान गरिने उनको भनाई छ । मन्त्रालयले तयार पारेको प्रोटोकल लामो समयदेखि पारित हुन सकेको थिएन । 

बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका अवसर दिन ६ भदौ २०७९ मा नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता (एमओयू) भएको थियो ।  सोही आधारमा दुवै देशका अधिकारीहरूले प्रोटोकल तयार पारेका थिए । 

सम्झौता भएको ९ महिनासम्म प्रोटोकल पारित हुने सकेको थिएन । कहिले परराष्ट्र मन्त्रालय, कहिले कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिएको प्रोटोकल केही दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । 

प्रोटोकल अनुसार मापदण्ड पुगेका नर्सहरू सर्ट लिस्टमा नाम निकालिनेछ । र अन्तर्वार्ता मार्फत बेलायत जानका लागि छनोट गरिने सहसचिव पोखरेलले बताए । 

स्वास्थ्यकर्मीको छनोटको सम्पूर्ण प्रक्रिया नेपालमा वैदेशिक रोजगार विभागबाट हुनेछ । त्यसको प्रत्यक्ष मनिटरिङ बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर (डीएचएससी) मार्फत हुनेछ ।