काठमाडौं : चिनियाँ अर्बपति ज्याक मा नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमनका अधिकारीले जानकारी दिएका छन् ।
बंगलादेशबाट विमान चार्टर्ड गरेर उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
उनको जेटमा ६ जना चालक दलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।
यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।
चीनको ह्वाङझाउमा जन्मिएका ज्याक माले शिक्षण पेशा छाडेपछि सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गरेका थिए । १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले अलिबाबा ग्रुप स्थापना भएको थियो । जसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्थ्यो । ‘चीनको अमेजन’को रुपमा चिनिएको उक्त कम्पनीको हाल १ खर्ब डलरभन्दा माथिको बजार मूल्य पुगिसकेको छ ।