काठमाडौं – समय संगै आधुनिक बिज्ञान-प्रविधिको विकास र अन्वेषणले मानव जीवन सरल हुदै गएको छ तर प्रबिधिलाई नियम संगत रुपले संचालन गर्न नजान्दा व्यक्तिगत जीवनमा अनेक जोखिम पनि बढ्दै गएको छ । बिशेष गरि फेसबुक वा अन्य सामाजिक संजालहरुको माध्यमले मानिसको गोपनीयता भंग हुने क्रम बढेको देखिन्छ।
हामीले बोक्ने मोबाइलमा रहेका अनेकौ व्यक्तिगत फोटो- भिडियो साथै बिभिन्न बैंकिंग विवरण राखिएको हुन्छ । दैनिक जीवनमा प्रयोग हुने सानो-सानो विवरण पनि हाम्रो मोबाइलमा नै हुने गर्छ । यदि मोबाइल हराएमा अथवा मोबाइल ह्याक भएमा हाम्रो व्यक्तिगत डेटा सहजै अरूको हातमा जानसक्छ भन्ने कुराको जानकारी हुन आबश्यक छ।
यसरि मोबाइलको माध्यमबाट हुने अपराधिक गतिबिधिबाट बच्न यी महत्वपूर्ण जानकारी थाहा पाउनुहोस् :
१- बलियो पासवर्ड अथवा बायोमेट्रिक अथेन्टिकेसन प्रयोग गर्नुहोस् :
मोबाइलको सुरक्षाका लागि बायोमेट्रिक अथेन्टिकेसन अर्थात् तपाईँको फिंगरप्रिन्ट वा फेसआईडी प्रयोग गर्नु उपयु्क्त हुन्छ । तर सबै मोबाइलमा यो फिचर नहुन सक्छ । यस्तोमा भने तपाईँले बलियो पासवर्ड प्रयोग गर्नुपर्छ ।
आफ्नो पासवर्डहरु ४-६ महिनामा परिबर्तन गरिरहदा उचित हुन्छ ।
पासवर्डलाई विस्थापित गर्न पासकीको प्रयोग पनि बढ्दै गएको छ । तपाईँले मोबाइलमा प्रयोग गर्ने एपहरूमा पनि बलियो पासवर्ड अथवा पासकी प्रयोग गर्नु उपयुक्त हुन्छ । आजभोलि मोबाइल कम्पनीहरूले बायोमेट्रिक अथेन्टिकेसन प्रणाली प्रयोग गर्न थालेका छन् ।
२- फिशिङ स्क्यामहरूबाट बच्नुहोस्, जथाभावी लिंकहरू क्लिक नगर्नुहोस् :
सामाजिक सञ्जालमा आएका जथाभावी लिंकहरू क्लिक गर्ने, विभिन्न बम्पर अफरको नाममा आएका मेसेज अथवा मेलमा रिप्लाइ गर्ने, आफ्नो व्यक्तिगत विवरण अनलाइनमा कसैले मागेको खण्डमा सहजै उपलब्ध गराउने, बैंकिङ अथवा डिजिटल वालेटका विवरण दिने लगायतका कामहरू गर्नुहुन्न ।
नेपालमा पनि विभिन्न अनलाइन माध्यमबाट फिशिङ आक्रमण हुने क्रम बढिरहेको छ । यसले गर्दा यस्ता विभिन्न प्रकारका फिशिङ स्क्यामहरूबाट जोगिन आफू पनि सचेत हुन आवश्यक छ । बिदेशमा रहेका नेपालीहरु समेत यस्ता फिशिङ लिंकमा परेर लाखौ पैसा गुमाएको देखिन्छ ।
३- साइबर क्याफे वा अन्य सार्बजनिक स्थानमा इमेल खोल्दा सधै लगआउट गर्न नबिर्सनुहोस् :
कहिलेकाही विभिन्न काम बिशेषले साइबर क्याफे वा अन्य कार्यालयको कम्प्युटरमा इमेल वा आफ्नो फेसबुक प्रयोग गर्दा काम सकिने बितिक्कै लगआउट गर्न बिर्सिनु हुदैन। यस्ता सार्बजनिक स्थानहरुबाट तपाईका व्यक्तिगत विवरण सहजै चोरी हुनसक्छ ।
४- नचिनेको व्यक्तिको फेसबुक रिक्वाईस्ट वा भिडियो कल रिसिभ नगर्नुहोस् :
सामाजिक संजालमा केहि गलत मनसाय भएका व्यक्तिहरुको फेसबुक रिक्वाईस्ट आउने गर्छ र बिस्तारै तपाइका बिभिन्न जानकारी चोरी गर्ने गरेको हुन्छ वा तपाइको व्यक्तिगत विवरण संकलन हुन सक्छ । यदि अन्जान व्यक्तिको भिडियो कल आयो भने सिधै रिसिभ गर्नु हुदैन । अहिले यस्ता भिडियो कलमा यौनजन्य कृयाकलाप देखाउदै रिकर्ड गरि तपाईलाइ ब्ल्याकमेल गर्न सक्छन ।
५- अपरेटिङ सिस्टम नियमित अपडेट गर्नुपर्दछ :
मोबाइल सफ्टवेयर अपडेट एकदम महत्त्वपूर्ण विषय हो । मोबाइल कम्पनीले विभिन्न सु्धार सहित अपरेटिङ सिस्टमको अपडेट उपलब्ध गराउने हुँदा समय-समयमा आफ्नो ओएस अपडेट गरिरहनुपर्छ । यसले तपाईँको मोबाइललाई सुरक्षित राख्न मद्दत गर्छ । साथै मोबाइलमा देखापरेका विभिन्न समस्या पनि समाधान गर्दछ ।
६- अनलाइन प्लेटफर्ममा आफूले शेयर गर्ने विवरणहरूमा ध्यान दिनुहोस्
अनलाइन प्लेटफर्ममा कुनै पनि प्रकारका व्यक्तिगत विवरणहरु शेयर गर्दा दुई पटक सोच्नुपर्छ । तपाईँले अनलाइन प्लेटफर्ममा शेयर गरेका विवरणले नै तपाईँलाई घाटा पुर्याइरहेको हुनसक्छ ।
अनलाइन प्लेटफर्ममा सकेसम्म आफ्नो ठेगाना, फोन नम्बर अथवा अन्य कुनै संवेदनशील व्यक्तिगत विवरण शेयर गर्नु हुँदैन । आपराधिक धारणा भएका व्यक्तिले कुनै पनि बेला तपाईँलाई सामान्य लाग्ने तपाईँको विवरणको फाइदा उठाई तपाईँलाई नै घाटा पुर्याउन सक्छ । कुनै पनि एप तपाईँले इन्स्टल गर्दा यदि उक्त एपले तपाईँको मोबाइलमा भएको डेटा, लोकेसन, तपाईँको कन्ट्याक्ट नम्बर लगायतका विवरणमा पहुँच माग्छ भने उक्त एप सुरक्षित छ कि छैन भनेर जान्न जरुरी हुन्छ ।
सबै प्रकारका एपलाई आफ्नो मोबाइलको हरेक विवरणमा पहुँच दिनु पनि आवश्यक हुँदैन । उदाहरणको लागि तपाईँले कुनै फोटो एडिटिङ एप डाउनलोड गर्नुभयो, तर यसले तपाईँको कन्ट्याक्टसमा पहुँच मागिरहेको छ भने यो गलत एप हुनसक्छ । यसरी आफूले कस्तो प्रकारको एप प्रयोग गरिरहेको छु भन्ने विषयमा ध्यान दिनुहोस् ।
७- सेक्युरिटी एपहरू प्रयोग गर्नुहोस्
मोबाइललाई विभिन्न प्रकारका मालवेयर अथवा अन्य जोखिमबाट सुरक्षित राख्न सेक्युरिटि एपहरू प्रयोग गर्न सकिन्छ । यस्ता एपहरूले तपाईँको मोबाइलमा भएको मालवेयर स्क्यान गर्ने, संक्रमित वेबसाइट ब्लक गर्ने, मोबाइल चोरी भएमा ट्रयाक गर्ने लगायतका कामहरू गर्छन् । विश्वासिलो डेभलपर हेरी यस्ता सेक्युरिटी एपहरू प्रयोग गर्न सकिन्छ ।
८- नियमित रुपमा डेटा ब्याकअप गर्नुहोस्
तपाईँको फोन हराएको, चोरी भएको अथवा बिग्रिएको खण्डमा तपाईँका डेटा पनि हराउन सक्छ । । त्यसैले क्लाउड स्टोरेजहरू प्रयोग गरी तपाईँको आफ्नो डेटा ब्याकअप गर्नसक्नुहुन्छ ।
यसले गर्दा तपाईँको मोबाइल चोरी भयो अथवा हराइहाल्यो भने पनि तपाईँले क्लाउड स्टोरेजबाट आफ्नो डेटामा पहुँच बनाइ यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ । साथै हार्ड ड्राइभहरूमा पनि आफ्नो डेटा ब्याकअप गर्नाले तपाईँको डेटाको पनि सुरक्षा हुन्छ ।
९- सार्वजनिक स्थानमा स्मार्टफोन प्रयोग गर्दा ध्यान दिनुहोस्
स्मार्टफोन प्रयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । तीमध्ये हामीले वास्ता नगर्ने कुरा भनेको सार्वजनिक स्थानमा मोबाइल प्रयोग गर्ने हो ।
सार्वजनिक स्थानमा मोबाइल प्रयोग गर्दा आफू वरिपरि कस्ता व्यक्ति छन्, कसैले हेरिरहेको त छैन भन्ने लगायतका कुरामा ध्यान दिन आवश्यक छ । साथै सार्वजनिक स्थानमा आफ्नो फोन जहाँ पायो त्यहीँ छोडेर हिँड्ने गर्नु हुँदैन ।
१०- नजिकका साथी वा आफन्तलाइ सामाजिक संजालका पासवर्ड सेयर नगर्नुहोस् :
तपाइले आफुसंग एकदम मिल्ने साथी वा आफन्तसंग फेसबुक वा अन्य सामाजिक संजालको पासवर्ड सेयर गर्ने गर्नु भएको छ भने आज देखि नै बन्द गर्नुहोस् किनभने यदि तपाइको साथीको मोबाइल हरायो वा बिग्रियो भने अन्य गलत ब्यक्तिमनसाय भएका व्यक्तिले दुरुपयोग गर्न सक्छ ।
११- जथाभावी एप डाउनलोड नगरी विश्वासिलो स्रोतबाट मात्र एप डाउनलोड गर्नुहोस् :
एप्पलमा एप स्टोर र एन्ड्रोइडमा प्ले स्टोरबाट एप डाउनलोड गर्ने गरिन्छ । तर कहिलेकाहीँ आफ्नो आवश्यकताका लागि हामी थर्ड पार्टी एप स्टोर अथवा वेबसाइटबाट पनि एपहरू डाउनलोड गर्ने गर्छौं । एन्ड्रोइडमा यो फिचर पहिलेदेखि नै उपलब्ध छ भने अब एप्पल डिभाइसमा पनि चाँडै नै यो फिचर उपलब्ध हुँदैछ ।
थर्ड पार्टी एप स्टोर अथवा वेबसाइटबाट डाउनलोड गरिएका कतिपय एपहरू संक्रमित हुन्छन् र यसले तपाईँको डिभाइसमा पनि मालवेयर इन्स्टल गरेर ह्याकरलाई मोबाइलमा पहुँच दिनसक्छ । यसले गर्दा आफूले एप डाउनलोड गर्नुअघि यसको स्रोत कतिको विश्वसनीय हो भनेर बुझ्न जरुरी छ । जथाभावी एप डाउनलोड नगर्नुहोस् ।