मान्छे दुर्जन हो भनौं यदि भने, हो श्रेष्ठ प्राणी नर ।
सर्वोत्कृष्ट भनौं भने पनि कहाँ, यो सत्य वाणी छ र ।
छैनन् मानव आत्मनिर्भर कुनै, जो छन् सबै आश्रित।
यो अस्तित्व जगत् चराचर सबै, छन् पूर्व निर्धारित ।१
स्वार्थी हुन्छ स्वभाव यो मनुजको, चाहन्छ आफ्नै भलो ।
पाएमा सुख भोग गर्न जहिल्यै, बिर्सन्छ आफ्नै थलो ।
गर्नै खोज्छ रजाइँ बौद्धिक बनी, एकत्र संसारमा ।
मात्तिन्छन् अति गर्वले विजयमा, तड्पिन्छ ऊ हारमा।२
गर्दै निर्वलको शिकार बलिया, खान्छन् अहारा भनी ।
अर्काकै परिपूर्ति खातिर सबै, बन्छन् सहारा यिनी ।
छैनन् पूर्ण स्वयं कुनै पनि यहाँ, जन्मेर मर्नेहरु ।
बाँच्छन् वर्ष कयौं यही अवनिमा, संघर्ष गर्नेहरु।३
कोही बाँच्न निमित्त मर्नु छ कुनै, यै हो इकोसिस्टम ।
पंक्षी मानिस जन्तु बोटबिरुवा, हुन्छन् सबै भिक्टिम ।
एस्तै चक्र सदैव चल्छ जगमा, रोकेर रोकिन्न यो ।
हुन् निर्जीवन वस्तु ती प्रकृतिमा, आएर ठोकिन्न जो ।४
उम्रिन्छन् कति झारपात भुइँमा, झर्छन् कुहिन्छन् त्यतै ।
माटोमै मलमूत्र रक्त पसिना, बग्छन् चुहिन्छन् यतै ।
आ-आफ्नै प्रतिबिम्ब दिन्छ सबले, मासिन्छ कोही कतै ।
आफ्नै वंश र रंग भेष बदली, टाँसिन्छ कोही कतै।५
केशव मडै
सुर्नया -५ बैतडी
हाल : युएई, अजमान
(साहित्यकार मडै विभिन्न विधामा कबिता लेख्दै आएका छन्, प्रस्तुत कविता “शार्दूलविक्रीडित छन्द ”मा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना प्रकाशित गर्न पाउदा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )
Post Views: 229