लघुकथा सङ्ग्रह “अणिमा”मा सैद्धान्तिक अणु दृष्टिकोण


लेखक : लेखापढी      ७ असार २०८०, बिहीबार २०:२७ मा प्रकाशित     
लघुकथा सङ्ग्रह “अणिमा”मा सैद्धान्तिक अणु दृष्टिकोण

||मनीषकुमार शर्मा ‘समित’||
आख्यानात्मक विधामा फरक फरक रचनातत्व रहेका छन् । ती मध्ये लघुकथाको विशेष पहिचानगत स्वरूप रहेको छ । यो विधाले वर्तमान समयमा निकै राम्रो उपस्थिति जनाएको छ । बदलिँदो समय र समाजको व्यस्त जीवनले पारेको प्रभावले यो विधाको विकास भएको पाइन्छ ।

विशेषतः लघुकथामा लघुरूप, पूर्ण रचना, चातुर्यपूर्ण समापन र अर्थपूर्ण भाव जस्ता आयामिक संरचना रहेको हुन्छ । छोटो समयभित्रै पाठकको मस्तिष्कमा प्रवेश गरी चटपटे स्वाद र मनोद्वेग तरङ्ग उत्पन्न गराउन सक्नु नै लघुकथाको मूलधार रहेको छ ।

नेपाली वाङ्मयको क्षेत्रमा लामो समयदेखि क्रियाशील प्रा. डा. कपिल लामिछाने लघुकथा विधाका सिर्जनशील साधक हुनुहुन्छ । उहाँको हालसम्म पाँच लघुकथा कृतिहरू अन्यथा  (२०५४), जलमानव (२०६१), बोन्साई (२०६८), विस्थापन (२०७५) र अणिमा (२०७९) प्रकाशित छन् । यी मध्ये पछिल्लो समय पाठकमाझ आएको लघुकथा सङ्ग्रह “अणिमा”को सैद्धान्तिक आवरणमा समिक्षा गर्ने जमर्को गरेको छु ।

साझा प्रकाशनबाट प्रकाशित यस सङ्ग्रह मुगुको रारातालमा औपचारिक विमोचन भएको थियो । कृतिको मुहार पृष्ठमा रहेको नाम अणिमा अर्थात योग अभ्यासबाट भइने अणु जस्तै सानोपनले कृतिगत सिद्धता पाएको छ । कृतिमा डा. पुष्करराज भट्ट, हरि भण्डारी, श्रीओम श्रेष्ठ, वनमालि निराकारज्यूहरूको शुभेच्छा र शुभकामना र कृतिकार स्वयम्‍को लघु कथन रहेको छ । १०४ पेजमा विभिन्न पृष्ठभूमीलाई समेटेका ६४ वटा लघुकथाका खुराक पस्किन सफल यस कृतिको पहिलो लघुकथा “तीन साथी” रहेको छ भने लघुकथा “कम्लो”मा रहेको छ ।

लघुकथाको शीर्षक लघुकथा झैं लघु हुनुपर्छ भन्ने मान्यता छ । शीर्षक चयन गर्दा, लघुकथाको विषयवस्तु, घटना, पात्र, परिवेश, बिम्ब प्रतिक सबैसँग वा कुनै एक वा दुईमा मेल खाने हुनुपर्छ । अझ, सटिक र आकर्षक शीर्षक बनाउन सके लघुकथाको भावलाई उचाईमा पुराउँछ । यिनै कथ्यतथ्य अनुरुप लघुकथाकार लामिछने शीर्षक चयनमा सचेत रहुनुभएको देखिन्छ । यस सङ्ग्रहको कतिपय लघुकथाको शीर्षकले प्रतीक्रियात्मक अर्थ बोकेको देखिन्छ भने कतिपयले मार्मिक पक्षको रहस्योद्‍घाटन गर्ने प्रतिच्छाया राखेको छ ।

एकपदीय शीर्षक भएका लघुकथाहरू अधिकांस रहेका छन् भने नौ वटा दुईपदीय शीर्षक र तीनपदिय शीर्षक भएका लघुकथा पाँचवटा छन् । एकै शीर्षकका दुई-तीन लघुकथाहरू रहेका छन् (वृत्ति-२, राहत-३) । यी लघुकथाका शीर्षक फरक फरक रहेमा अझ प्रभावकारि हुने अनुभूति हुन्छ ।

लघुकथाकारलाई लघुकथामा धेरै शब्दहरू खर्च गर्न स्वतन्त्रता हुँदैन । छोटो शब्दमा साङ्केतिक रूपमा विचार एवम् दृष्टिकोण प्रस्तुत गर्नु चुनौतीपूर्ण कार्य हो । यो मामलामा लघुकथाकार लामिछाने सजक रहनु भएको छ । सबै लघुकथाहरू लघुकथाका आयमको मानक २५०-३०० शब्द भित्र रहेका छन् ।

लघुकथामा चरित्र/पात्र संख्या थोरै हुन आवश्यक छ । सोही कथ्य तथ्यलाई विचार गरी लघुकथाकारले, एक लघुकथा (भाइरस ) बाहेक, अन्य लघुकथाहरूमा न्यून पात्रहरू प्रस्तुत गर्नुभएको छ । लघुकथाहरूमा भेटिने पात्रहरू समाजभित्रैका सामान्य पात्र हुन् र सामाजिक यथार्थताको दुरुस्त प्रतिनिधित्व गर्ने पात्रहरू रहेका छन् । केही लघुकथाहरूमा मानवीकरण पात्रहरू पनि चरित्रकारूपमा उपयोग गरिएका छन् (लघुकथाः सहिद पार्क, झपक्कको रुख, नयाँ अवतार, कोरोना बेड, विशाल रुख, घकु र भुकु) ।

परिवेशले कुनै खास देश, ठाउँ वा समाज, कालखण्ड र वातावरणको चित्रण गर्दछ । घटना र अनुभूति एकै झोक्कामा सकिनु पर्ने लघुकथाको अर्को मूल तत्व रहेको छ । लघुकथामा पात्रहरूले गरेको कार्य, संवाद र घटनाहरू घटेको समयलाई केलाउँदा लघुकथाहरूको परिवेश, घटना समय फरक फरक रहेको देखिन्छ । कोरोना परिवेशका लघुकथाहरूमा भगवान, लकडाउन, नयाँ अवतार, कोरोना की माई, कोरोना बेड, लाम, दान, उपहार, एक मात्र चिन्ता, आदि रहेका छन् । राजनीति परिवेशका कथाहरूमा आरक्षण, संरक्षण, सहिद पार्क, चस्मा आदि रहेका छन् । त्यस्तैः  भ्र्ष्टचारमा आधारित (रछ्यान, पुल), बालमनोविज्ञान परिवेशका लघुकथाहरू (नाति मन, सजाय, काम्लो), धर्म संस्कृति परिवेशका (लक्ष्मी, परिवर्तन, भगवान, दान), प्रविधि र विज्ञानले समाजमा पारेको प्रभाव जोडेर लेखिएका लघुकथाहरू (छलाङ, पाउपाउ, लापर्बाही, फाँसी) र मनोविज्ञानमा आधारित लघुकथा (ऊ, उनी र उहाँ) रहेका छन् भने अन्य लघुकथाहरू समसामायीक पारिवारिक र सामजिक परिवेशका रहेका छन् । 

लघुकथाको कथानक सिर्जना गर्दा आकस्मिक उठान आवश्यक रहेको छ । उठानमा को? किन? कसरी? जस्ता प्रश्नको परिधिभित्र रहेर कुतुहलता बोकेको हुनुपर्छ । यस कृतिमा आकस्मिक उठान भएका लघुकथाहरू आरक्षण फूलवाली, हुर्केको रुख लापर्बाही, परिवर्तन, वृत्ति(२), प्रतिशोध, अहिंसक, शिक्षा, भइरस, रछ्यान, करुणा, राहत(२), कोरोना बेड, एक मात्र चिन्ता, सजाय, फरक मान्छे, तलाक, बराबरी, ऊ, उनी र उहाँ आदि छन् । यी लघुकथाहरूले आकस्मिकता र कुतुहलता बोकेको देखिन्छ । अन्य लघुकथाहरूको उठान परम्परावादी र सामन्य रहेको छ ।

त्यस्तै सशक्त, विपरित धारमा र खुला समापन बोकेका लघुकथाहरू प्रभावकारी हुन्छन् । यस खालको लघुकथाले घटना र परिवेशका बाँकी अवस्थाबारे पाठकलाई सोच्न बाध्य बनाउने अरू अर्थ लगाउने जस्ता कल्पनाको स्वतन्त्रता दिने हुन्छ । कृतिमा सशक्त, विपरित धारमा र खुला समापन बोकेका लघुकथाहरू तीन साथी, संरक्षण, वृत्ति(१), सहकार्य, हुर्केको रुख, सहिदपार्क, छलाङ, सपिङ, पाउपाउ, लापर्बाही, फाँसी, परिवर्तन, वृति(२), प्रतिशोध, अहिंसक, उ उनी र उहाँ, रछ्यान, भगवान्, लकडाउन, करुणा, राहत(२-३),  कोरोना बेड, लाम, एक मात्र चिन्ता, काम्लो आदि रहेका छन् ।

केही लघुकथाहरूका अन्तिम बाक्यङ्सहरू हटाउन पाए समापनमा प्रभावकारीता आउने अनुभूत हुन्छ – (लघुकथाः आरक्षण, फूलवाली, आसिक, मर्निङ वाक, नर्सरी, शिक्षा, तलाक, फरक मान्छे, चिनु, चारो र चरो, मोटो) ।

भाषाले अभिव्यक्तिलाई सुन्दर बनाउँछ भने शैलीले भाषालाई सुन्दर बनाउँछ । यस कृतिको भाषाशैली एक सबल पक्षको रुपमा रहेको छ । यसले पाठकलाई प्रभावित तुल्याउँछ  । लघुकथामा देखिने लयात्मकता, सालिन र सरसता भाषाशैलीले कृतिलाई कलात्मक एवम् सौन्दर्यपूर्ण बनाउनमा मद्दत पुर्याएको छ । लघुकथामा बिम्बात्मक, प्रतीकात्मक, आलङ्कारिक, व्यञ्जनात्मक तथा व्यङ्ग्यात्मक शैलीको अवलम्बन गरिएको छ ।

यस लघुकथा सङ्ग्रहको मूल उद्देश्य शिक्षा दिनु, आनन्द दिनु, मनोरञ्जन गर्नु, यथार्थ प्रकट गर्नु आदि रहको छ । लघुकथाकार लामिछानेले निश्चित स्थान र समयमा पात्रले गर्ने क्रियाकलाप र सोही क्रियाकलाप माध्यमबाट द्वन्द्व उत्पन्न गराइ सारगर्भित सत्यको उद्घाटन, युगसापेक्ष विचार, मनका तहको विश्लेषण, प्रगति वा व्यङ्ग्य प्रस्तुत गर्नु भएको  छ ।

लघुकथाभित्र रहेका केही लघुकथाहरूको भाव र सन्देश यस प्रकार रहेका छन् ।

आरक्षणः आरक्षणबाट असक्षम र अयोग्यलाई नियुक्ति गरिँदा उसबाट पाउने गुणस्तरीयहिन सेवाको भागिदार स्वयम् नियुक्तिकर्ता पनि हुन्छ भन्ने आसयमा लघुकथा लेखिएको छ ।

संरक्षणः जुन ठाउँमा पनि राजनीतिक र पैसाको शक्तिले काम गर्ने विकृतिको चित्रण लघुकथामा गरिएको छ ।

फूलवालीः  आफ्नो परिश्रम प्यारो हुन्छ भन्ने कथनलाई समेटेको छ ।

सहकार्य, मिल्ने साथीः साथीको नाममा कलङ्क, भरअवरको समय साथ छाड्ने मित्रबन्धु प्रति तिखो झटारो ।

हुर्केको रुख, चरो  र चारोः  गाउँका टाठाबाठाले जगरुक हुन खोज्ने सर्वसाधारणलाई कसरी दमन गर्न सक्छन् भन्ने कुरा यी लघुकथाभित्र लघुकथाकारले पस्किनु भएको छ  ।  

परिवर्तनः आधुनिक सभ्यता अँगाल्ने नाममा विदेशीको संस्कृतिलाई अनुसरण गर्ने कार्यको माथि चोटिलो प्रहार ।

फाँसी, शिक्षाः महिला हिंसा, अरुलाई पर्दा  सामान्य लिने र आफ्नो चेलीबेटीलाई पर्दा विद्रोहको स्वर निकाल्ने प्रवृतिक प्रति व्याङ्यात्मक प्रस्तुति ।

पाउपाउः प्रविधिका कारण बालबालिकामा परेको नकारात्मक प्रभाव, लघुकथाले आम पारिवारिक समस्यालाई उठान गरेको छ ।

अहिंसकः समाजमा रहेने दैखौवा पात्रको चित्रण गरिएको छ । एक सन्तको बाहिरीरूप र भित्रिरूप प्रति गतिलो प्रहार गरेको छ ।

ऊ, उनी र उहाँः  प्रत्येकलाई आ-आफ्नै रोईलो र पिरलो छ । कोही कतै सुखी छैनन् आत्मसन्तुष्टि छैन । यस्तै मानवीय कथा व्यथामा उनिएको मन छुने लघुकथा ।

सङ्ग्रहमा रहेका केही लघुकथाहरूको भाव, संवाद एकअर्कासँग मिल्न गएको देखिन्छ । लघुकथा हुर्केको रूख र लघुकथा प्रतिशोधको कथन उस्तै रहेको छ, केवल पात्र र समापनमा मात्र केही फरक रहेको छ । त्यस्तै लघुकथा फाँसी र शिक्षाको कथावस्तु उस्तै रहेको छ ।

अन्य लघुकथाहरूमा गरिब जनता, डर, शून्यता, आम जनता र उनीहरूको बाध्यता लघुकथाको केन्द्रबिन्दुमा छन् । राजनीतिक व्यङ्ग्य, सामाजिक, आर्थिक, नैतिक, धार्मिक विषय प्रति गहिरो चासो उहाँको लघुकथामा पाइन्छ ।

सामाजिक विकृति र विसङ्गतिलाई आलोवनात्मक दृष्टिचेत सहित सरल र सलिन भाषामा संक्षेपिकरण गर्न सक्ने क्षमता लघुकथाकारमा रहेको छ । मानवीय सम्बन्ध, संस्कार, प्रकृति, प्रवृत्ति, कला, जीवन, मनजस्ता कुरालाई सूक्ष्म रूपले लघुकथामा उतार्न सफल हुनु भएको छ । लघुकथाको निश्चित मापदण्डमा पनि पाठकीय मनोवाञ्छालाई सन्तुष्टि दिन प्रवृत रहनु भएको छ । छोटो समयमा ज्ञान र मनोरञ्जनसमेत गर्नुपर्ने आजको व्यस्त पाठकले आफूलाई प्राप्त समयअनुसारका यस कृतिबाट सन्तुष्टि लिन सक्ने छन् ।

लघुकथाकार प्रा. डा. कपिल लामिछानेलाई हार्दिक बधाई एवम् कृतिगत सफलताको  शुभकामना ।


(साहित्यकार मनीषकुमार शर्मा ‘समित’ द्वारा  “अणिमा” कृति को समिक्षा गरिएको छ)