पाँच जना कलाकार र ३ जना युट्युबर पक्राउ


पाँच जना कलाकार र ३ जना युट्युबर पक्राउ

काठमाडौँ- प्रहरीले पाँच जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो । 

यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा मनोज केसीले जानकारी दिए ।  

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। 

पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ । पक्राउ पर्ने कलाकारहरु एकै टिममा आबद्ध भएको बताइएको छ ।