काठमाडौँ- भारतीय समाचारमाध्यम र ह्वाट्सएप म्यासेजमा व्यापक रुपमा फैलिरहेको सूचनामा कुनै वैज्ञानिक पुष्टि नभएको र उक्त घटना अफवाह मात्र भएको पाइएको छ ।
सामाजिक संजाल वाट्सएपमार्फत आदानप्रदान भइरहेको म्यासेजमा यस्तो लेखिएको छ- ‘आँप खानेबित्तिकै चिसो पेय नखानुहोस् । चन्द्रीगढ जाँदै गरेका केही व्यक्ति आँप खानेबित्तिकै चिसो पेय खाएपछि अचानक थला परे । उनीहरुलाई अचेत अवस्थामा अस्पताल पुर्याइयो । अस्पतालले मृत घोषित गर्यो,‘चिकित्सकले पनि आँपमा साइट्रिक एसिड र कोल्ड ड्रिंकमा हुने कार्बोनिक एसिड मिसिंदा पेटमा विष उत्पादन हुन्छ । कृपया यो सन्देश आफ्ना सबै प्रियजनहरूमा फर्वाड गर्नुहोस् । किनकि आँपको सिजन सुरु भएको छ ।’
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले भाइरल भइरहेको उक्त सूचना तथ्यहीन र अफवाह मात्र भएको उल्लेख गरेको छ । समाचारमा उल्लेख छ, ‘बंगलादेशमा पनि दुई यात्री आँप र कोक खाएकै कारण मृत्यु भएको भन्दै समाचारको क्लिप भाइरल भइरहेको छ । जुन गलत हो ।’
आँप र चिसो पेयमा पाइने रसायन वा एसिडको मिश्रणमा विष बन्ने तत्व नहुने जनरल फिजिसियन डा. निमेष पौडेल बताउँछन् । उदाहरण दिंदै उनले भने, ‘आँपमा पाइने साइट्रिक एसिड कागतीमा पनि हुन्छन् । कागतीलाई कोक, फ्यान्टा, डिउजस्ता चिसो पेयमा मिसाएर खाने गरिन्छ । कागती र कोल्ड ड्रिंक खाएर थला परेको खबर आजसम्म आएको छैन । साइड इफेक्ट पनि खासै देखिंदैन ।’ यो तथ्यहीन कुरा हो । यद्यपि, पहिला नै कसैलाई गम्भीर स्वास्थ्य समस्या भएमा यस्ता खानेकुरा खाँदा विरलै यस्तो घट्ना हुन सक्ने उनको तर्क छ ।