मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा


लेखक : लेखापढी      २५ जेष्ठ २०८०, बिहीबार १६:५२ मा प्रकाशित     
मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् । 

राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।  

बालेन साह यतिबेला भारतको बैंगलोरमा छन् । उनको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको नक्सा राखेको स्वकीय सचिव साहले बताए । 

‘नेपालको गर्विलो इतिहास छ । त्यो इतिहास झल्काउने नक्सा राखिएको हो । मेयर सापकै निर्देशनमा राखेका हौं ।’ स्वकीय सचिव साहले भने । 

भारतले आफ्नो संसदमा ग्रेटर इण्डियाको नक्सा राखेको छ । त्यसमा नेपालका लुम्बिनी र कपिलवस्तु समेत समेटिएका छन् । भारतको उक्त कदमको नेपालमा चर्को विरोध भइरहेको छ । 

आम सर्वसाधारणको तर्फबाट भारतको उक्त कदमको विरोध भइरहेको बेला मेयर बालेनको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो । उक्त नक्सामा सुगौली सन्धि हुनु अघिको नेपाली भूभाग समेटिएका छन् ।