बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवातका कारण काठमाडौंमा वर्षा : भोलि बढी पानी पर्ने सम्भावना बढी


बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवातका कारण काठमाडौंमा वर्षा : भोलि बढी पानी पर्ने सम्भावना बढी

काठमाडौं- देशका केही पहाडी भूभागमा आज वर्षा हुने सम्भावना छ । काठमाडौंमा अहिले छिटपुट वर्षा हुन थालेको छ । महाशाखाका मौसमविद् सन्जीव अधिकारीका अनुसार क्षणिक वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित क्षणिक वर्षा हुनेछ ।

“एकदमै क्षणिक वर्षा हुन्छ । काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ,”  

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको उनले बताए ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित ‘मोखा’ हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ । त्यसले नेपालमा खासै असर नगर्ने मौसमविद् अधिकारीको भनाइ छ । 

“पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै वर्षा गराउने हो,” उनले भने, “मोखाले धेरै पानी गराउने अवस्था छैन ।”

‘मोखा’ले कोसी र मधेस प्रदेशमा बादल भने बढाउने उनले बताए । “मोखाले पानी नपारे पनि बदलीचाहिँ गराउँछ । कोसी प्रदेश र मधेस प्रदेशमा बादल बढाउँछ,” उनले भने, “त्यसो हुँदा तापक्रम घट्छ ।”

उनका अनुसार आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । भोलि काठमाडौंसहित पहाडी भूभागमा वर्षाको सम्भावना प्रवल रहेको उनले जानकारी दिए ।

बंगलाको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिने र त्यसले यहाँको प्रणाली थप मजबुत बनाउने उनले बताए ।

“आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ,” उनले भने, “बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिँदा पश्चिमी र स्थानीय वायुलाई थप सशक्त बनाउँदा वर्षाको सम्भावना बढी देखिन्छ ।”

भोलिको तुलनामा पर्सि वर्षाको सम्भावना कम रहेको उनले बताए । उनका अनुसार पर्सि पहाडी भूभागमा भने वर्षाको थोरै सम्भावना छ ।