युद्धग्रस्त सुडानमा २४ नेपाली, साउदी हुँदै उद्धारको तयारी


लेखक : लेखापढी      १५ बैशाख २०८०, शुक्रबार १५:२८ मा प्रकाशित     
युद्धग्रस्त सुडानमा २४ नेपाली, साउदी हुँदै उद्धारको तयारी

काठमाडौं- युद्धग्रस्त उत्तर अफ्रिकी मुलुक सुडानमा रहेका २४ नेपाली इजिप्टको राजधानी कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । २४ नेपालीमध्ये १७ जना पूर्वी सुडानको लालसागरमा अवस्थित सहर पोर्ट सुडान पुगेका छन् । तर, सातजना नेपाली भने सुडानको राजधानी खार्तुममै छन् ।

सुडानमा रहेका ६ जना नेपाली शान्ति सैनिक पनि त्यहाँबाट बाहिरिइसकेको नेपाली सेनाले जनाएको छ । सेनाका प्रवक्ता ब्रिगेडियर जनरल कृष्णप्रसाद भण्डारीले उनीहरूमध्ये चारजना युगान्डा र दुई जना शान्ति सैनिक पोर्ट सुडान पुगेको बताएका हुन् ।

सुडानको राजधानी खार्तुमसहितका प्रमुख सरहहरूमा लडाँइ चलिरहेको छ । पोर्ट सुडान सहर सुडानको मुख्य बन्दरगाह हो । यसको अन्तर्राष्ट्रिय व्यापारको ९० प्रतिशत यहाँबाटै हुन्छ । त्यसैले यो सहर सुरक्षित मानिएको छ । अन्य देशका नागरिक पनि सुरक्षित स्थानका रुपमा पोर्ट सुडान पुगेका छन् ।

इजिप्टको राजधानी कायरोस्थित नेपाली दूतावासका द्वितीय सचिव दीपक घिमिरेले खार्तुममा रहेका नेपालीलाई सुरक्षितरूपमा नेपाल फर्किन आवश्यक बन्दोवस्त गर्न उनीहरूले काम गर्ने कम्पनीलाई आग्रह गरेको बताएका छन् । बाह्रखरीसँग उनले भने, “कम्पनीले नै गरेको व्यवस्था अनुसार एक नेपाली लालसागरमा रहेको साउदी अरबको बन्दरगाह सहर जेद्दामा पुगिसकेका छन् । अरुका लागि पनि व्यवस्था गर्न कम्पनीहरूलाई पत्राचार गरिएको छ ।” 

पोर्ट सुडानमा पुगेका १७ मध्ये ८ नेपालीको उद्धारका लागि पहल भइसकेको समेत उनले बताएका छन् । तीमध्ये पासपोर्ट हराएका एक नेपालीका लागि कायरोस्थित दूतावासले भ्रमण कागजपत्र जारी गरेको उनले बताए ।

पोर्ट सुडानबाट नेपालीलाई साउदीतर्फ लैजान काम भइरहेको उनले जानकारी दिए । द्वितीय सचिव घिमिरेले भने, “रियादस्थित नेपाली दूतावास र जेद्दास्थित महावाणिज्य दूतावासले अलपत्र परेका नेपालीलाई अनअराइभल भिसा जारी गर्न र जेद्दा पुग्न मद्दत गर्न साउदी अधिकारीसँग समन्वय गरिरहेका छन् ।” 

कायरोस्थित नेपाली दूतावास सुडानमा रहेका नेपाली नागरिकसँग सम्पर्कमा रहेको उनले बताए ।  “दूतावासले उनीहरूको सुरक्षा सुनिश्चित गर्नका साथै छिटो स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ,” उनले बताए ।

सुडानमा दूतावास नहुँदा इजिप्टको कायरोस्थित दूतावासले नै त्यहाँको मामिला हेर्दै आएको छ । सेना र अर्धसैनिक बलबीचको शक्ति संघर्षका कारण युद्धमा फसेको छ । अप्रिल १५ देखि सुरु भएको युद्धमा ५१२ भन्दा बढीको मृत्यु भएको र कम्तिमा ४२०० जना घाइते भएको बताइएको छ । युद्ध चर्किएसँगै सुडानबाट विभिन्न देशका कुटनीतिज्ञ एवं नागरिक बाहिरिएका छन् ।