लघुकथा सुन्ने र सुनाउने अभियानको पहिलो शृङ्खला सम्पन्न


लघुकथा सुन्ने र सुनाउने अभियानको पहिलो शृङ्खला सम्पन्न
साहित्यलाई बन्द कोठा,भव्य सभा,पार्टी प्यालेस र सामाजिक सञ्जालको कठघराबाट बाहिर ल्याएर आम सर्वसाधारण जनताहरूसँग प्रत्यक्ष जोडिएर दूर दराजका आम मानिसहरूलाई साहित्यसँग प्रत्यक्ष जोड्ने र सामाजिक जनचेतनामा अभिवृद्धि गर्ने मुख्य उद्देश्य राखेर साहित्यको एउटा गहन र सूक्ष्म विधा लघुकथा मार्फत सुन्ने र सुनाउने लघुकथा अभियान अन्तर्गत आज चितवन जिल्लाको सुदूर पूर्व राप्ती न.पा.-१० स्वामीटार स्थित राष्ट्रिय माध्यमिक विद्यालय परिसर भित्र शोभा चेपाङ र कमला कुमारी सुनुवारज्यूको हातबाट चुवा फूलको माला अर्पण गर्दै अभियानको पहिलो शृङ्खला सम्पन्न गरियो ।
 
भक्तपुरबाट आउनु भएका अतिथि स्रष्टा मनिष कुमार शर्मा ” समित ” को प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक आसमान तामाङ, राप्ती नगरपालिका वडा न. १० का वडा अध्यक्ष तेज बहादुर तामाङ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी र बौद्धिक व्यक्तिहरूको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

नमस्ते आधुनिक लघुकथा मञ्च चितवनबाट स्रष्टा मिठु कुमारी पाठक डल्लाकोटी, घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’ तथा प्रभा देवी पौडेल हुनुहुन्थ्यो भने लघुकथा चौतारी, मकवानपुरका स्रष्टाहरू किशन पौडेल, श्याम कुमार श्रेष्ठ, समीर पाख्रिन , तोयनाथ सुवेदी र विष्णु प्रसाद गौतम हुनुहुन्थ्यो । चितवन-मकवानपुरका स्रष्टाहरूले आ-आफ्नो लघुकथाहरू उपस्थित आम सर्वसाधारण पाठकहरू माझ  वाचन गरेर सुनाउनु भएको थियो साथै विभिन्न लघुकथा कृतिहरू स्थानीय स्वामिटार र खहरेका विभिन्न राष्ट्रिय आधारभूत विद्यालयका प्रधान अध्यापक श्री आसमान तामाङ, श्री भक्त बहादुर बि.क. श्री दशरथ तामाङ, श्री ज्ञामु गिरीलाई हस्तान्तरण गर्नुभएको थियो । किशन पौडेलले लघुकथाको बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रमको सभापतित्व नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’ले गर्नु भएको थियो ।
 
कार्यक्रम सञ्चालन मिठु कुमारी पाठक डल्लाकोटीज्यूले गर्नुभएको थियो । कार्यक्रम संयोजक नमस्ते आधुनिक लघुकथा मञ्च र लघुकथा चौतारी मकवानपुरले गरेको थियो ।
(२०८० वैशाख २ गते , राप्ती न.पा.-१० स्वामिटार)