विश्व रङ्गमञ्च दिवस मनाइयो प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा


लेखक : लेखापढी      १५ चैत्र २०७९, बुधबार ०१:३४ मा प्रकाशित     
विश्व रङ्गमञ्च दिवस मनाइयो प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा

६२ औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा माला आर्टस् एकेडेमीको संयुक्त आयोजनामा प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा विश्व रङ्गमञ्च दिवस मनाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रङ्गमञ्च सन्देशका रुपमा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले छनौट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गर्नु भएको थियो । उक्त सन्देश डा. शिव रिजालले नेपालीमा अनुवाद गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ट रङ्गकर्मी सुनिल पोखरेलले ६२ औँ रङ्गमञ्च सन्देशका लेखक समिहा अयुवका बारेमा जानकारी गराउनुभएको थियो ।
माननीय मन्त्री श्री सुदन किरातीले रङ्गमञ्च दिवसको शुभकामना व्यक्त गर्नुहुँदै कला मानव समाजमा मनोरञ्जनका लागि मात्र अस्तित्वमा आएको नभई मानव जीवन र समाज रुपान्तरणका लागि बनेको बताउनु भयो । नेपाली मौलिक हरिसिद्धि नाच, जल प्याखः जस्ता अमूर्त सम्पदा तथा डबली परम्परालार्ई पवद्र्धन गर्न सके नेपालले धेरै पर्यटकहरुलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनु भयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायत नाट्य विधासंग सम्बन्धित संस्थाहरुलाई नेपाली संस्कृति र प्रकृति झल्किने सिर्जनाहरु गरी विदेशी भूमिमा प्रस्तुत गर्ने योजना बनाउन सुझाउँदै घर भन्दा पहिला विचार निर्माण गर्नु पर्ने बताउनु भयो । भनाइ राख्ने क्रममा उहाँले ‘देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ’ उनले भने, ‘म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ ।’ भन्नु भयो ।

कुलपति निशा शर्माले आगामी कार्यक्रम तथा योजनाहरुका बारेमा बताउँदै मौलिक कलाको संवद्र्धन र प्रवद्र्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसंग सम्बिन्धित व्यक्तिहरुसँगको अन्र्तवार्ता आर्काइभका रुपमा राख्नु पर्नेमा जोड दिनुभयो । आफूहरुसँग सङ्गीत तथा नाटकलाई गतिशील बनाउने थुप्रै योजनाहरु भएपनि बजेटको अभाव रहेको बताउनु भयो ।

उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिनुहुँदै प्रज्ञा प्रतिष्ठानसँग जग्गा उपलब्ध भएपनि कार्यक्रम गर्ने हलको अभावमा पाल टाँगेर कार्यक्रम गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ट अभिनेता सरोज खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै आफूसँग रङ्गकर्मको ३६ वर्षको अनुभव रहेको र रङ्गमञ्चलाई प्रवद्र्धन गर्नका निम्ति माला आर्टस् एकेडेमीमार्फत विविध गतिविधिहरु गर्र्दै आएको बताउनु भयो ।

कार्यक्रममा डा. शिव रिजालले विश्व रङ्गमञ्च र नेपालको उल्लेखनीय भूमिका विषयमा आफ्नो भनाई राख्दै नेपालमा रङ्गकर्मीहरुले विभिन्न नाट्य संस्था मार्फत गतिविधिलाई गतिशील बनाइरहेको अवस्थामा नाट्यकर्मी तथा रङ्गकर्मीहरुले यस क्षेत्रबाट जिविकोपार्जन भएकाले उनीहरुलाई श्रमिकका रुपमा बुझ्न ढिला गर्न नहुने बताउनु भयो ।

त्यस्तै आफ्नो भनाई राख्दै रङ्गकर्मी आकांक्ष कार्कीले नाटक सामूहिक प्रयास भएकाले सबैले आफ्नो अपनत्व हुने किसिमले यस क्षेत्रमालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

औपचारिक कार्यक्रमलाई समापनपछि सलिल सुवेदीले र समूहले साङ्गीतिक प्रस्तुति दिनुभयो भने विभिन्न रङ्गकर्मीहरुले सरोज अर्याल तथा सन्दिप डंगोलको परिकल्पनामा रङ्गमञ्च यात्रा प्रस्तुत गर्नु भयो । साथै कलाकारहरुले क्यानभासमा चित्र समेत सिर्जना गरेर प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति भुपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमूनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लागयत वरिष्ठ स्रष्टा तथा सर्जकहरुको उपस्थिति रहेको थियो ।