प्रहरी महानिरीक्षक (आइजिपी)मा नवनियुक्त बसन्त कुवर को हुन् ? यस्तो छ उहाँको योगदान


लेखक : लेखापढी      ११ चैत्र २०७९, शनिबार ०१:२७ मा प्रकाशित     
प्रहरी महानिरीक्षक (आइजिपी)मा नवनियुक्त बसन्त कुवर को हुन् ? यस्तो छ उहाँको योगदान

काठमाडौँ- अर्घाखाँचीको सन्धिखर्कस्थित तुम्कोटमा बुवा भीम बहादुर कुँवर र आमा नमकला कुँवरका कोखबाट जन्मे-हुर्केका कुँवर नेपाल प्रहरीको सर्वोच्च पद (आईजीपी) नियुक्त भएका छन् । शुक्रबार दिउँसो ४ बजे मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आजैबाट अवकाश पाएपछि नयाँ आईजिपी नियुक्त गरिएको हो। 

२०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवर प्रहरीमा ब्यवसायिक अधिकृतको रूपमा चिनिन्छन् । कुँवरको अर्को विशेषता इमानदारीता हो । उनीसँग निकट एक जना अधिकृत भन्छन्, ‘वसन्त कुँवर इमानदार छन्, मिठो बोल्ने अधिकृत हुन् ।’ 

शुक्रबारको मन्त्रीपरिषदले डिआईजी पदबाट हालसालै मात्र बढुवा भएका पाँच जना एआइजीहरुमध्येबाट वारिताको क्रमको एक नम्बरमा रहेका बसन्त कुवँरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। हालै एआइजीमा बढुवा भएका डीआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुन। यी सबै आईजिपी पदका दाबेदार थिए।  

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबिए) शैक्षिक योग्यता हासिल गरेका छन्। प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए। त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए।  

उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन्। यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन्।  

उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन्। 

स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।  

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए। प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए।  

प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ। प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए।  

संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ। कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका हुन्।  वसन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन्।