वसन्त कुँवर प्रहरी महानिरीक्षकमा बढुवा


वसन्त कुँवर प्रहरी महानिरीक्षकमा बढुवा

काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो । 

३० वर्षे सेवाअवधि हटाएर कार्यकाल लम्ब्याउन महानिरीक्षक सिंह र उनको ब्याचले प्रयास गरेको थियो । सेवा अवधि हटाउनु पर्ने बहस पनि लामै चलेको थियो । तर, सरकारले तत्काललाई अहिलेकै व्यवस्थालाई निरन्तरता दिएर प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । यससँगै अघिल्लो टोली अवकाशमा गएको हो । रिक्त नेतृत्वमा कुँवर आएका हुन् ।

आईजीपी बन्ने प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै विसं २००७ साल चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बनेका हुन् । पहिलो महानिरीक्षक तोरणशमशेर राणा हुन् । तर, प्रहरीले संगठन स्थापनाको ५ वर्षपछि विसं २०१२ मा ऐन आएको दिनलाई प्रहरी स्थापना दिवस मान्दै आएको छ । यद्यपि हालसम्म संगठनमा २९ जनाले नेतृत्व गरिसकेका छन् । कुँवर ३० औं नेतृत्वमा आइपुगेका हुन् । २०२६ चैत १५ मा अर्घाखाँचीको सन्धीखर्कमा बाबु भीमबहादुर कुँवर र आमा नमकलाबाट जन्मिएका कुँवर २०५१ चैत ५ मा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका थिए । अहिलेको ३० वर्षे सेवाअवधि कायम रहे कुँवर २०८१ चैतमा अवकाशमा जाने छन् ।

२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उनले विभिन्न जिल्लाका अलावा प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर उनी इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा विभिन्न जिल्लामा रहेर काम गरेका छन् । गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, डोटी, चितवन, नुवाकोट, धादिङ, प्रहरी युक्ति तालिम महाविद्यालयलगायत युनिटमा रहेर काम गरिसकेका छन् ।

२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए । कुँवर गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । डीआईजीमा बढुवा हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । त्यसअघि उनले प्रहरी प्रवक्ताका रुपमा काम गरेका थिए । डीआईजीमा बढुवापछि भने प्रहरी प्रधान कार्यालय कार्यविभागमा पदस्थापना भएका उनी पछिल्लो पटक मधेस प्रदेश प्रहरी प्रमुख बनेका थिए ।

गत फागुन २६ मा कुँवरसहित पाँचजना डीआईजीबाट एआईजीमा सिफारिस हुँदा पहिलो वरीयतामा परेका थिए । बुधबार एआईजीको दर्ज्यानी लगाएका उनी त्यसको २ दिन पछि शुक्रबार आईजीपीमा बढुवा भएका हुन् । प्रहरी प्रवक्तासमेत रहिसकेका उनी संगठनमा हक्की स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । राजनीतिक रुपमा भने कुँवरको पारिवारिक पृष्ठभूमि कांग्रेससँग निकट छ । उनका दाजु वरिष्ठ अधिवक्ता बाबुराम कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा नेपालको महान्यायाधिवक्ता बनेका थिए । त्यसपछि कुँवर गण्डकी प्रदेश प्रमुख पनि बनेका थिए । तर, आईजीपीमा बढुवा भएका कुँवरलाई भने व्यावसायिक छविका अधिकृतको रुपमा चिनिन्छ ।

माओवादी सशस्त्र द्वन्द्वकालमा भने उनीमाथि मानवअधिकार उल्लंघन गरेको आरोप लागेको छ । त्यही कारण केही देशले उनलाई मानवअधिकार उल्लंघनकर्ताको सूचीमा समेटेको छ । तर, सरकार र विद्रोही पक्ष दुवै विस्तृत शान्ति प्रक्रियामा आएर मुलुक अर्को चरणमा प्रवेश गरिसकेका कारण सरकारको आदेश पालना गर्ने अधिकारीहरुमाथि बारम्बार प्रश्न उठाइनु गलत भएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतको भनाइ छ ।