आज भन्दा ६वर्ष अगाडी मैले देखेको त्यो ठाउँमा हालैका दिनमा घुम्ने अवसर जुर्यो। अवस्था अवलोकन पछि त्यहाँका स्थानियको अभिमत बुझ्ने मन थियो तर त्यो भन्दा पहिले “अघि देखेको र अहिलेको अवस्था” आफै आँकलन गरेर फरक /परिवर्तन पहिल्याए ।
एक जना स्थानीय अपरिचितसंग त्यहाँको बिकासको अबस्था र स्थानिय निर्वाचनका सन्दर्भमा कुराकानी भये,- “ज्यादै निराशा, केही भयेन, केही गरेनन्, सबै उस्तै हुन्– ” पुर्वाग्रह र सन्तोष मान्न नसकिने अवस्था, मानौ उत्तरहरू रेडिमेड बनाइएका छन। नकारात्मकताको मात्रै प्रशिक्षण पाए जस्तो।
मैले पहिल्याएका ५ बर्ष पहिले र अहिलेका ५वटा परिवर्तन / फरक एक-एक गरि राखे र भने “अब भन्नुस मैले भेट्टाएका बिकासका/परिवर्तन ठिक छन कि छैनन्? “
“हजुर त्यो त पक्कै हो “
प्रश्न थपे – केही भएन किन भन्नु हुन्छ? केही त भएकै रहेछ नि ? भएकोलाई त हो भन्न सक्नु पर्यो?
उनि अकमकिए ।
अर्का एक जना परिपक्व देखिने मान्छे को बिचार पनि बुझ्दा, लगभग उस्तै रेडिमेड जवाफ आयो ।
तेस्रा व्यक्ति अलि सकारात्मक देखिए – ” उति बेलाका दु:ख सम्जञ्जा त अइल त कथब होइरैछ रे समाज भण्या भाणि गै, बिगड्ड ला ‘छ —–। “
निर्वाचनको सन्दर्भ पनि चलि रहेकोमा बेला बेलामा थुप्रै नेता तथा कार्यकर्ताहरूको उद्देश्य भएको विकासलाई ओझेलमा पार्दै अर्काले केही गरेन, हामी अब गर्छौ भन्दै निराशाको ब्यापार गर्ने प्रवृतिले सर्वसाधारणलाई आफुतिर लोभ्याउदै अर्कालाई दोषीमात्रै देखाउने गरि नकारात्मक प्रशिक्षण दिनु भोटको राजनीति बाहेक केही होइन। खोटमात्रै देखाएर आफू माथि उक्लने प्रवृतिगत राजनीतिले नेपाली राजनीति प्रति सर्वसाधारणमा भ्रम फैलाइदैछ र राजनीति बिकृत बन्दै गएको छ।
सर्वसाधारणमा असन्तोष हुनु स्वाभाविक हो तर त्यसलाई सकारात्मकता तिर डोर्याएर राजनीति गरिनु पर्दछ। हिजो जितेकाले केही गरेन भन्दैमा नकारात्मकता र असन्तुष्टिको लाभ लिनु भनेको भोली आफु पनि त्यहीँ हालतमा पुग्नु हो । हाम्रो जस्तो समाजमा सर्वसाधारणका अपेक्षा धेरै हुन्छन् । एउटा निश्चित समय अवधिमा सतप्रतिशत अपेक्षा पुरा गर्नु असंभव हुन्छ। जनतालाई स्थितिबोध गराउँदै प्राथमिकताका आधारमा/क्षमताको आधारमा पुरा गर्न सकिने आश्वासन बाड्नु जायज हुन्छ।
एउटा नमूनाका रूपमा ५वर्ष पहिलेको एउटा वडाको लिखित प्रतिबद्धता अहिले आउँदा के कति पुरा भयो ? आँकलन गर्दा ५०% पनि पुरा भएको देखिएन् । गर्नै नसकिने योजना किन पस्किएका थिए त ? सर्वसाधारण लोभ्याउन ?
किन गर्न सकिएन ? – यो भयो… त्यो भयो । व्यवहार हेर्दा नेतृत्वको इच्छा शक्ति र कार्यक्षमता कमजोर देखियो। नतिजा जनतामा निराशा बढ्यो ? गर्न नसक्नेहरू सकेनौ भन्न लाज मान्ने र अर्का तिर औला ठड्याउने र आफू चोखो बन्ने प्रवृत्ति झन बढेर गएको छ।
केन्द्रमा बिकसित बिकृत राजनीतिले तलसम्म गाँज्दै लगेको छ । लोकतान्त्रिक व्यवस्थामा दलहरूको आफ्नो आफ्नो फरक-फरक सिद्धान्त, लक्ष्य, उद्देस्य, कार्यक्रम र साङ्गठनिक प्रणाली हुन्छ । मिसन र भिजन हरेक दलको भिन्दा भिन्दै हुन्छ तर हामी कहाँ नाम फरक भए पनि मति र प्रवृत्ति उस्तै-उस्तै हुँदा “सपै उसाई हुन” भन्नु पनि नाजायज होइन। सरकार संचालनको र चुनावी मिसन एउटै बनाएर गठबन्धन गर्दा समेत एउटै चुनाव चिन्ह स्विकार्न नसक्नु, मूल सैद्धान्तिक पाटो एउटै समाएर पनि बिखण्डनबादी चरित्र रहिरहनु नेताहरूका वैयक्तिक स्वार्थ हाबि भएको प्रमाण हो। दलहरू भित्रको अनुशासन यसै प्रवृतिले सखाप पारेको छ र बैयक्तिक महत्वाकांक्षाले राष्ट्रिय स्वार्थलाई केवल घोषणापत्रको आडम्बर बनाइदिएको छ। जन निराशाको एउटा पाटो यो पनि हो।
भएको कामको जस लिन नेताहरू बैयक्तिक रूपमा आफू जिम्मेवार भयेको दम्भ गर्छन तर समग्रतामा नयाँ सोच र भिजनका साथ आर्थिक विकास, बेरोजगारी समाधान, राष्ट्रिय पुँजी परिचालन, आयात प्रतिस्थापन, गरिबी न्यूनीकरण, स्थानिय स्रोतको परिचालन, दिगो भौतिक बिकास, प्रतिभा पलायनको रोकथाम जस्ता कुराहरूमा पछिल्ला सरकार असफल रहेका छन। ब्यबस्थाको जतिसुकै बिरोध गरिए पनि पंचायतकालमा महेन्द्र राजमार्गको थालनि, सार्वजनिक संस्थानहरूको स्थापना र राष्ट्रिय शिक्षा पद्धति २०२८ महत्वपूर्ण उपलब्धि हुन। पछिल्लो समयमा राजनैतिक लफडाबाजीले सरकारहरूको बदनाम भये पनि ” ” केही भएकै छैन ” भन्ने मनोविज्ञान प्रचारित भयो ।
गर्नै नसकिने अवस्था थिएन, लुछाचुडी र अलमलमै समय व्यतित भये पछिल्ला ५ बर्ष । गर्न सकिने प्रचुर सम्भावना थिए र छन। उदाहरणका लागि हरेक प्रदेशले आ आफ्नो प्रदेशमा एउटा एउटा बृहत मोडेल प्रोजेक्ट पुरा गर्न सक्थे चाहे त्यो उद्योग होला वा विद्यालय, पावरहाउस, खानि, अस्पताल ——-। यहाँ त ५ बर्षमा प्रदेश नामाकरण र स्थायी प्रादेशिक राजधानी स्थापनामै झंझट देखिए। सुदूरपश्चिममा डाक्टरको अभाव छ, हरेक पालिका र प्रदेशले अनावश्यक खर्च कटौती गर्दै १००जना स्थानिय डाक्टर उत्पादन र गेटा मेडिकल कलेज चलाउन सक्थे या कनिका छरे झै तदर्थवादी सडकमा छरिएको बजेटले महाकाली र सेती करिडोर फास्टट्र्याक बन्थे त्यसले दीर्घकालिन असर छोडथ्यो, पालिका पालिकामा बजेटको लुछाचुँडी छ, चित्त बुझाउने काम देखिन्थ्यो।
केहि भएको छैन् भन्नेमा सबैले हो मा हो मिलाउँदै गफ चुटने अवस्थै चाही होइन। शिक्षा, सडक, बैङ्किङ, संचार स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा प्रगति भएकै अबस्था हो। सार्वजनिक र नीजि प्रयास थुप्रै भयेका छन तर केही बिकृति र केही कमजोरी विद्यमान रहदा सकारात्मकता ओझेलमा परेको छ। सरकार सञ्चालनमै पनि सकारात्मक सन्देश दिन सक्ने गरि मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालले दुरगामी असर नछोडेको होइन, तर पछिका सरकारहरूले नयाँ प्रयोग ल्याए पनि सुसञ्चालनमा कसर बाँकी रहे।
बिगत ३०/३२बर्ष यता देशको राजनीतिमा केही थोरै नेताहरूको हालि मुहाली छ, जतिसुकै अहंकार गरे पनि बिपि कोइराला र मदन भण्डारी बाहेक राजनीतिको सैद्धान्तिकिकरणमा अहिले सिण्डिकेट चलाइ रहेका ठूला नेताहरू र दलहरू असैद्धान्तिक भुमरिमा छन। सत्ताको मियो वरिपरि लडिबुडी खेलिरहेका दल र तिनका नेताको प्रवृति साररूपमा नफेरिएकै कारण धेरैले “सप उसाइ हुन” भन्नु त्यति नाजायज होइन्।
सकारात्मक चिन्तन, कार्यशैली र फरकपनको आभास दिन सक्ने राजनैतिक, सामाजिक-सास्कृतिक अगुवा नभयेका होइन, छन तर सबैलाई उहीँ नजरियाबाट हेर्ने र खोटमात्रै पहिल्याउने, सकारात्मकता प्रोत्साहन नगर्ने टाठाबाठाहरूको बिगबिगीले असल चरित्रहरू “ओइल” परेका छन।
जगदीश ओझा (जगन्नाथ आत्रेय)
भीमदत्त नगरपालिका- ५, महेन्द्रनगर
कन्चनपुर