कीर्तिपुर मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्री प्रचण्डको निर्देशन


कीर्तिपुर मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ- सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई जनही तीन लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। 

शुक्रबार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँ दिने बताएका हुन्।

उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए।  

प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए। 

उनले भने, ‘तपाईंहरूले खेल्नुभएको यो खेलमा तपाईंहरू सबै धन्यवादको पात्र बन्नुभएको छ। सम्पूर्ण विजेता खेलाडीहरूलाई सरकारको तर्फबट तीन/तीन लाख दिने घोषणा गर्दछु। कीर्तिपुरमा जाँदा मैले हिजो फ्लड लाइट र स्कोर बोर्ड तत्काल फेर्ने काम अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु। त्यसका लागि आवश्यक साधन स्रोतको व्यवस्था सरकारले गर्नेछ।

सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ। देशका विभिन्न ठाउँमा, अझ चितवनमा। त्यहाँ देखिएका समस्याहरूलाई हेरेर हामी अघि बढिरहेका छौं।’

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताए।