नेपालमा लगानी गर्ने चिनियाँ कम्पनीलाई सहयोग गर्न तयार छौं : प्रधानमन्त्री पुष्पकमल दाहाल


लेखक : लेखापढी      ३० फाल्गुन २०७९, मंगलवार १५:०४ मा प्रकाशित     
नेपालमा लगानी गर्ने चिनियाँ कम्पनीलाई सहयोग गर्न तयार छौं : प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुकसँगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको गरेको बताएका हुन्।  

उनले प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्ने जिकिर गरे। प्रचण्डले सीमापार कनेक्टिभिटीको आवश्यकतालाई ध्यानमा राखि सरकारले नेपाल–चीन सीमानाका पूर्वाधार सुधार, सीमानाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने र विभिन्न स्थानमा बन्दरगाह निर्माणलाई तीव्रता दिएको बताए। 

उनले लाभदायक क्षेत्रहरु जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी लगायतमा लगानी गर्न आह्वान गरे। प्रधानमन्त्री प्रचण्डले नेपालको कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिने र नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्ने भएकाले लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको धारणा राखे।

उनले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए। सीमापार रेलवे र प्रसारण लाइनहरूको सम्भावनाले आगामी वर्षहरूमा दुई देशको आर्थिक सम्बन्धलाई उल्लेखनीय रूपमा सुधार गर्न मद्दत गर्ने प्रचण्डले विश्वास व्यक्त गरे।