फनपार्कको जग्गा भाडामा भ्रस्टाचारबारे पूर्वमन्त्री बद्री न्यौपानेले रुँदै भने- बैंक ब्यालेन्स पनि छैन,भाइको घरमा बसेको छु


लेखक : लेखापढी      ३० फाल्गुन २०७९, मंगलवार १४:४७ मा प्रकाशित     
फनपार्कको जग्गा भाडामा भ्रस्टाचारबारे पूर्वमन्त्री बद्री न्यौपानेले रुँदै भने- बैंक ब्यालेन्स पनि छैन,भाइको घरमा बसेको छु

काठमाडौं- पूर्वमन्त्री बद्री न्यौपानेले आफूलाई नियोजित रुपमा फसाइएको दावी गरेका छन‍। काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको आरोप लगाए। 

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले न्यौपानेमाथि ९ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

न्यौपानेले भने,‘विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि म पुनरावेदनमा जान सक्ने अवस्थामा छैन । पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । मसँग जग्गा छैन, बैंक ब्यालेन्स पनि छैन । भाइको घरमा बसेको छु । म न धरौटी राख्न सक्छु,न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।’

मन्त्री हुँदा समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको बताए । सोही प्रक्रियामा सहभागी अरुलाई सफाई दिएर आफूलाई मात्रै नियोजित रुपमा फसाइएको उनको भनाइ छ।

उनले आफू मन्त्री हुँदाको दिनदेखि अहिलेसम्म राज्यको कुनै निकायबाट अनियमितता नगरेको दावी गरे। उनले भने ,‘राष्ट्र र जनताको लागि चुरेभावर भएर राजनीतिमा आउँदा मैले एक रुपैयाँ खाएको छैन। नभए मेरो बैंक ब्यालेन्स हेरियोस्। मेरो जग्गा हेरियोस् । मेरो केही रहेछ भने तपाईंहरूले मलाई सजाय दिनुहोस् । होइन भने केही नभएको सुकुमबासी र राष्ट्रियताको पक्षमा लड्नेलाई राजनीतिक रुपमा ड्यामेज गर्न नखोजियोस् ।’

विशेष अदालतले मनोमानीसँग २० करोड ७१ लाख ३४ हजार रुपैयाँ नोक्सानी पारेको भनिए पनि के कसरी नोक्सानी भयो भनेर स्पष्ट पार्न नसकेको उनको दावी छ।