नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेल चलान


नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेल चलान

धनगढी- प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जेल चलान गरिएको छ। आगजनी गरेको अभियोगमा दोषी ठहर भएका चौधरीले जिल्ला अदालत कैलालीको फैसलाअनुसार कारागारमा चलान गरिएको हो।

हिजो साँझ चौधरी कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए। आज विहान १० बजे कैलाली जिल्ला अदालतमा उपस्थीत गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो। 

फरार प्रतिवादीको सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेको कोहलपुरको बैजनाथपुरबाट पक्राउ गरिएको थियो। चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा पहिला काठमाडौ लगेको थियो।काठमाडौबाट उनलाई जहाजमै धनगढी लगेको हो। चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेको खुलेको छ। गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका हुन्। यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए। ती दुबै चुनाव उनले हारेका थिए।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले प्रतिनिधिसभा सदस्य रहेको अरुण चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए। वि.सं २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिर बहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो। त्यती बेला ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो। अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन।जिल्ला अदालत कैलालीले सांसद चौधरीलाई आजदेखि आगामी साउन १९ गतेसम्म कारागारमा राख्नेगरी कैद पूर्जी दिएर जेल पठाएको छ।