शहीद सप्ताह सुरु


शहीद सप्ताह सुरु

काठमाडौँ-  मंगलबारबाट शहीद सप्ताह सुरु भएको छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १०-१६ गते सम्म शहीद सप्ताह मनाउने गरिएको छ । 

१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ । 

शहीद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष १० माघबाट शहीद सप्ताह मनाउन थालिएको हो । साथै  शहीद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएको थियो । चारैजनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ।  

तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।