पुषकी रात “ठुली” – देउडा


पुषकी रात “ठुली”  – देउडा
जेठकी दोपरी ठुली, पुषकी रात ठुली ।
नरायाको स्वर्गको भण्णा, जरम्या थात ठुली ।
पितरनकी शराद ठुली, द्यौताकी जात ठुली ।
उकालाकी भारी ठुली, सभामाइ बात ठुली ।
 
समयकी चल्ती ठुली, घोडाकी लात ठुली ।
मायामा मौतारी ठुली, दु:खमा सात ठुली ।
नन्दिनालाइ अर्ति ठुली, बुडालाइ निन ठुली ।
बैरागीलाई आसा ठुली, रोगीलाई घिन ठुली ।
 
भोकालाइ भोजन ठूलो, ऋणिलाइ रिन ठूलो ।
अभाग्गीलाई दैव ठूलो, दुखीलाई दीन ठूलो ।
दिनभया सुरज ठूलो, रात पड्या जून ठूलो।
बिपत्तिमा लगायाको, मान्सको गुन ठूलो ।
 
खेतमा मलपर्सो ठूलो, सागमा नुन ठूलो ।
कसैकी मायाजाल ठूलो, सम्पती सुन ठूलो ।
गित बैरामा सङ्गीत ठूलो, बाजामा धुन ठूलो ।
दुनियाँ सन्सारै पुग्दे, मान्सको मन ठूलो ।
 
बोलिमा दुर्वचन ठूलो, हियामा आग लौन्या ।
दाइभाइमा भागबन्डा ठूलो, जमिन भाग लौन्या ।
गणितमा सुत्र ठूलो, गीतामा ज्ञान् ठूलो ।
बिरामीकि डाक्टर ठूलो, मनकी ध्यान ठूलो ।
 
शिकारीकि मृग ठूलो, जोगिकीलाई भिक्षा ।
पढाई लेखाइ भण्णा ठूलो, संस्कार नैतिक शिक्षा ।
घरमा सुखशान्ती ठूलो, प्रदेशमा नाता ।
अन्नमा जौ कोदो ठूलो, पशुमा गौ माता ।
 
बल बुद्धि कलम ठुलै, तरवार पन ठुलै ।
आफनी बंशज राख्दे, घरबार पन ठुलै ।
तेरा लागि टोपी ठुली, मेरा लागि कुलै।
आखिरीमा झान्या वाँइ हो, बाटो जन भुलै ।
 
धरतीमा सबहै ठूलो, योइ मनुष्य चोला ।
जाण्याले जिन्दगी भरी, राम नाम जप्द होला ।


केशव मडै 
सुर्नया -५ मडगाउँ रामकीबरायल बैतडी 
बसाई : भिनपा -६ ऐठ्पुर कंचनपुर 
अच्याल : युएई अजमान