विषाक्त खाना खुवाउने रिसोर्टलाई तीन लाख जरिवाना


विषाक्त खाना खुवाउने रिसोर्टलाई तीन लाख जरिवाना

चितवन- विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख रूपैयाँ जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ।

मंसिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि शुक्रबार प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको हो।

समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम तीन लाख रूपैयाँ जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ।

अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिवाना सिफारिस गरेको हो। अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

गत मंसिर २३ गते नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको सो होटलमा भएको एक बिहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए।

 
 

भरतपुरको नेसनल सिटी अस्पतालमा झाडापखाला, वान्ता तथा रिङटा लागेर भर्ना भएका बिरामीबाट गरिएको नमूना परीक्षणमा उनीहरूले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

होटलले खानामा गम्भीर लापरबाही गरेको पाइएको बताउँदै उनले दिसामा पाइने ब्याक्टेरिया नै भएको पुष्टि भएको बताए। सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नपाकेको खाना, दही, सलाद, पानीपुरी, अचार आदिमा त्यस्तो ब्याक्टेरिया भएको हुन सक्ने बताए।

समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिँगा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ। यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ। -रासस