अस्तित्व मेट्छन् अब


अस्तित्व मेट्छन् अब
हामी नायक हौं भनेर जति नै, उर्दी लगाए पनि 
बन्दै भावुक आँसुका नयनले, खोलो बगाए पनि।
को पत्याउँछ आज खै मुलुकमा, छन् राष्ट्रवादी भनी ।
ठग्दैछौ दिन रात देश जनता, विस्वास घाती बनी ।
 
खोक्रो भाषणले यहाँ जतिसुकै, घोक्रो सुकाए पनि ।
मान्दै लाज कतै सभाहल विषे, मुन्टो झुकाए पनि ।
छैनन् ती व्यवहारमा वचनका, वाचा प्रतिज्ञाहरु ।
व्यर्थैमा किन आस गर्नु जनले, यस्तो प्रतीक्षा अरु ।
 
झल्किन्छन् सब पाप ती विगतका, साम्ने दुरुस्तै यहाँ ।
नेपाली जनका हरेक मनमा, छन् पीर उस्तै यहाँ ।
लाखौंका बलिदानका रगतको, खिल्ली उडायौ जहाँ ।
वर्षौं राज गरेर यो मुलुक नै, बन्दी बनायौ यहाँ ।
       
कुर्सी मात्र छ एक प्राथमिकता, चाहिन्न केही अरु ।
मैले पाउनुपर्छ शक्ति जति यो, देशै डुबोस् यो बरु।
यस्तै मूढ दिमागका मनुजले, नेतृत्व भेट्छन जब ।
सारा पुर्वजका इमानहरुको, अस्तित्व मेट्छन् अब।


केशव मडै (किर्सन)

सुर्नया-५ मडगाउँ रामकीबरायल, बैतडी 
हाल : युएई   
(नेपाली साहित्य विधामा निरन्तर कलम चलाउदै आएका केशब मडैले प्रस्तुत कबिता “शार्दूलविक्रीडित छन्द” मा लेख्नुभएको छ। – लेखापढी डटकम)