राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्त्व राजेन्द्र लिङ्देनले प्राप्त गरे संगै नेपाली युवाबर्गको उत्साह बढेको देखिन्थ्यो । राप्रपालाई राष्ट्रिय पार्टीको हैसियत दिलाउनुको पछाडिको यथार्थ नयाँ नेतृत्वप्रति युवाको आशा र प्रमुख राजनीतिक शक्तिप्रतिको वितृष्णा नै हो । देशमा बढ्दो भ्रष्टाचार, महँगी, कालोबजारी अराजकता मौलाउँदै जाँदा जनताले विकल्प खोज्नु स्वाभाविकै हो, त्यसमाथि युवालाई जोड्दै परम्परागत राजनीतिक शक्तिको पक्षमा सकारात्मक माहौला सिर्जना गर्न सक्नु लिङ्देनको राजनीतिक सफलता हो ।
‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्ने उनको सार्वजनिक अभिव्यक्तिका साथै हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डामा विश्वास राख्नेमाथि लिङ्देन भरपर्दो विकल्पको रूपमा रुचाइएको बुझ्न सकिन्छ । गतवर्ष सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देन नेतृत्वमा आएसँगै पूर्वपञ्चहरुको बाहुल्यता रहेको पार्टीमा पुनः जतमत केही आकर्षित हुँदै ‘परम्परागत शक्ति’का रूपमा अगाडि आएको हो ।
को हुन् राजेन्द्र लिङ्देन ?
राजेन्द्र लिङ्देन मूलतः पूर्वपञ्च हुन् । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका उनले गत वर्ष अध्यक्ष चयन हुनुअघि नै पार्टीका विभिन्न तहमा काम गरिसकेका थिए । ५७ वर्षीय लिङ्देन २०३८ देखि तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विभिन्न तहमा २०४६ सम्म सक्रिय रहे । ०४९ देखि ०५४ सम्म राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्ष बनेका उनी बहुदलीय व्यवस्थापछिका स्थानीय निर्वाचनमा जनप्रतिनिधि पनि बनेका थिए ।
उनी जिल्ला विकास समिति झापाको सभापति पनि बनेका थिए । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले जिविस झापाको सभापतिमा बनाएका थिए । त्यतिबेला उनीमाथि दुर्व्यवहार र आक्रमण समेत भएको थियो । लिङ्देनले त्यतिबेला आफ्नो हत्या प्रयास समेत भएको र भाग्यले बाँच्दा अहिले नाफाको जीवन बिताउन पाएको बताउने गरेका छन् । उनै लिङ्देनले राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।
लामो राजनीतिक यात्रा भएपनि लिङ्देनको संसदीय यात्रा भने २०७० सालबाट सुरु भएको हो । उनी २०७० को पहिलो संघीय संसदमा उनी झापा–३ बाट विजयी भएका थिए । कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलालाई हराएका उनले मङ्सिर ४ को निर्वाचनमा पनि सिटौलालाई नै फराकिलो मतान्तरले हराएका हुन् । लिङ्देनले ४० हजार ६६२ मत पाउँदा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरे ।
राप्रपाको आगामी यात्रामा सहयात्री बनेका यी ६ सारथि :
राप्रपालाई पुनर्जीवन दिन जति राजेन्द्रलाई जस दिने काम भइरहेको छ राजेन्द्रलाई सफल बनाउने भूमिकामा पार्टीका महामन्त्री धवलशमशेर राणाको भूमिका त्यतिनै छ । धवलकै बलियो समर्थन र लबिङमा राजेन्द्र लिङ्देन नेतृत्वमा आएको राप्रपाका नेताहरू बताउँछन् । उनै धवल संसदीय यात्रामा लिङ्देनको सारथिका रूपमा विजयी भएका छन् ।
धवलले बाँके २ बाट विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मतका साथ विजयी हासिल गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका राणा २०६३ को परिवर्तनपछि राप्रपा नेपालमा लागेका थिए । उसो त उनी मरिचमानसिंह श्रेष्ठको ‘सेभ द नेशन संगठन’ मा पनि लागेका थिए ।
यसैगरी चितवन ३ बाट विजयी भएका विक्रम पाण्डेको परिचय राजनीतिअघि निर्माण व्यवसायीको हो । अहिले राजनीति र व्यवसायलाई सँगै अघि बढाउँदै आएका उनी सूर्यबहादुर थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखि नै आवद्ध भएका थिए । ०७० सालको संविधान सभा सदस्य निर्वाचनमा तत्कालीन चितवन–५ बाट विजयी भएका उनी भूमिसुधार र वन मन्त्री भएका थिए । उनै पाण्डेले मङ्सिर ४ को निर्वाचनमा चितवन ३ बाट ३५ हजार ६० मतका साथ विजय हासिल गरेर राजेन्द्रको बलियो सारथि बनेका छन् ।
यसैगरी लिङ्देनका अर्का सारथि दीपक बोहरा रुपन्देही ३ बाट विजयी भएका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै विजय हासिल गरेका हुन् । विजयी भएका बोहराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरे ।
चार दशकदेखि राप्रपाको राजनीतिमा क्रियाशील बोहरा २०३६ सालमै रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । यस्तै २०४२ सालको राष्ट्रिय पञ्चायतमा पनि विजयी उनी २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए । बोहरा पटक पटक मन्त्री समेत भइसकेका नेता हुन् ।
यसैगरी लिङ्देनको अर्का संसदीय मोर्चाको सारथिका रूपमा प्रवक्ता ज्ञानेन्द्र शाही पनि आएका छन् । भ्रष्टाचारविरोधी अभियन्ताको रूपमा छवि बनाएका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । स्थानीय चुनाव अघि राप्रपामा प्रवेश गरेका उनले जुम्लाबाट २२ हजार ८१९ मत ल्याएर विजय हासिल गरे ।
यसैगरी नवलपरासी २ बाट चुनाव जितेका ध्रुवबहादुर प्रधान र मकवानपुर १ बाट विजयी दीपक बहादुर सिंह पनि लिङ्देनको संसदीय सारथि बनेका छन् । प्रधानले ३४ हजार ७६४ मतका साथ विजयी हासिल गर्दा सिंहले २७ हजार ७२६ मतका साथ संसदीय यात्रा तय गरेका हुन् । पटक पटक मकवानपुरबाट चुनाव लड्दै आएका उनी पहिलो पटक विजयी भएका हुन् । उनले यो पटक विजय मात्रै हासिल गरेनन् आफ्नै पूर्व नेता कमल थापासँगै कांग्रेसकी सहमहामन्त्री डीना उपाध्यायलाई पनि पराजित गरे । उनी लामो समय कमल थापाको सहयोगीको रूपमा थिए ।
पूर्वपञ्च पृष्ठभूमिका दीपक सिंहको जन्म २०१५ सालमा बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट धनकुटामा भएको थियो । मोहन बहादुर सिंह तत्कालिन समयमा बडा हाकिम एबं अन्चालाधिस थिए । राजा महेन्द्र शाहको योजना अनुरुप सुदुरपस्चिमको महेन्द्रनगर बजारको डिजाइन लगायत तराईका विभिन्न जिल्लाहरुमा योजनाबद्ध नयाँ बस्ति र शहर बनाउन मोहन बहादुर सिंहको महत्त्वपूर्ण भूमिका रहेको थियो । पछि उनको परिवार हेटौँडा बसाइँ सरेको हो । सिंहको पुर्ख्यौली थलो सुदुरपस्चिमको दार्चुला जिल्ला हो । दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भएको थियो । तत्कालीन नेपाल राष्ट्रिय युवा संघको अध्यक्षसमेत बनेका उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । हेटौँडाका सफल उद्योगी उनी राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य समेत हुन् ।
यसैगरी ध्रुवबहादुर प्रधान राप्रपाका उपाध्यक्ष समेत हुन् । उनी नेपाल प्रहरीको पूर्वआईजीपीका साथै नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष समेत हुन् ।