विश्वकप फुटबल : सेनेगलमाथि नेदरल्याण्ड्स २-० ले विजयी


लेखक : लेखापढी      ६ मंसिर २०७९, मंगलवार ०३:२९ मा प्रकाशित     
विश्वकप फुटबल : सेनेगलमाथि नेदरल्याण्ड्स २-० ले विजयी

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा सोमबारको दोस्रो खेलमा नेदरल्याण्ड्सले सेनेगलललाई २-० ले पराजित गरेको छ ।

चोटका कारण स्टार फरवार्ड साडियो माने विश्वकपबाट बाहिरिएपनि सेनेगलले नेदरल्याण्ड्स विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करिब ८५ मिनेट गोल गर्नबाट रोकेको थियो ।

तर ८ वर्षपछि विश्वकपमा फर्केको नेदरल्याण्ड्सले अन्तिम समयमा दुई गोल गर्दै जित निकाल्यो ।

अल थुमामा स्टेडियममा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले ८४औं मिनेटमा फ्रेन्की डे जोङको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

इन्जुरी टाइमको नवौँ मिनेटमा डेभी क्लासेनले नेदरल्याण्ड्सका लागि गोल थपे ।

जितपछि नेदरल्याण्ड्सले समूह ए मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली कतरालाई २-० ले हराएर इक्वेडरले पनि ३ अंक जोडिसकेको छ । कतार र सेनेगल भने अंकविहीन छ ।