रवीन्द्र मिश्रलाई १२८ मतान्तरले काठमाडौं-१ बाट प्रकाशमान सिंह विजयी


लेखक : लेखापढी      ६ मंसिर २०७९, मंगलवार ०३:१४ मा प्रकाशित     
रवीन्द्र मिश्रलाई १२८ मतान्तरले काठमाडौं-१ बाट प्रकाशमान सिंह विजयी

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाए ।

यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा उनलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा आएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए ।

२०४६ सालमा पंचायत ढलेपछि २०४७ देखि निरन्तर १० वर्षसम्म कांग्रेसको काठमाडौं जिल्ला सभापति रहेका सिंहले नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उप-सभापति नै बने । २०६४ मा पार्टी एकीकरणपछि २०६७ को १२औं महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए ।

१४औं महाधिवेशनसम्म आइपुग्दा देउवाबाट निकै टाढा पुगिसकेका सिंहले सभापतिमा प्रतिस्पर्धा गरे । तर, दोस्रो चरणमा पुग्न नसकेपछि देउवालाई सभापति बन्न साथ दिएका उनले एकै निर्वाचन क्षेत्राट पटक-पटक उठ्ने र जित्ने सौभाग्य पनि प्रापत् गरेका छन् ।

२०४८ मा काठमाडौं-४ मा र २०५१ मा काठमाडौं-३ मा पराजित भएका उनले २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं-१ मा आएर जितेपछि उनले यहाँबाटै निरन्तर चौथो विजय हात पारेका हुन् ।

यसअघि २०७४को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए । तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए ।

तर, पछिल्लो समयमा राप्रपामा लागेका मिश्र दोस्रोपटक सिंहसँग भिड्न काठमाडौं-१ मा नै आएका थिए । यसपटक सिंहका प्रतिस्पर्धामा धेरै नयाँ अनुहार आएपछि प्रतिस्पर्धा रोचक बनेको थियो ।