दोहा — कतार विश्वकप फुटबल सुरु हुन लाग्दा त्यसका लागि प्रयोग हुने रंगशालाहरू के कस्ता छन्, त्यसमा पक्कै सबैको रुचि होला । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा सबैले गरेको एउटा ठूलै आलोचना थियो, त्यतिबेला यो देशसँग एउटै गतिलो रंगशाला पनि थिएन ।
तर पछिल्ला १२ वर्षमा कतारले विश्वकपकै लागि भनेर सात नयाँ सानदार रंगशाला बनाएको छ भने एउटा पुरानो रंगशालाको मर्मत गरेको छ । कस्ता छन् त यी आठ रंगशाला ? एएफपीको रिपोर्ट :
लुसेल आइकोलिन रंगशाला
कतारको सबैभन्दा ठूलो रंगशाला हो, लुसेल आइकोलिन रंगशाला । यसको दर्शक क्षमता रहेको छ, ८० हजार । कतारको सबैभन्दा ठूलो रंगशालाले डिसेम्बर १८ मा हुने निर्णायक खेल फाइनलको आतिथ्य गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल पनि यहीं हुनेछ । रंगशाला लुसेलमा बनेको छ । यो त्यस्तो दुई लाख जनसंख्याको प्रस्तावित सहर हो, जसलाई योजनाबद्ध ढंगले मध्यदोहाबाट १५ किलोमिटर टाढा बसाइएको छ । विश्वकपपछि यसलाई ‘कम्युनिटी हब’ मा परिणत गरिनेछ । यस रंगशालामा रहेका कुर्सीलाई अन्यत्र सारिनेछ अथवा कसैलाई सहयोग दिइनेछ ।
अल–बयात रंगशाला
आइतबार जति बेला विश्वकप सुरु हुनेछ, सबैको पहिलो नजर यही अल–बयात रंगशालामा पर्नेछ । यसको दर्शक क्षमता ६० हजार रहेको छ । कतार र इक्वेडरबीच उद्घाटन खेल यहीं हुनेछ । स्पेन र जर्मनबीचको बहुप्रतीक्षित समूह चरणको खेल र दोस्रो सेमिफाइनल पनि यहीं हुनेछ । यसको निर्माण ‘बेडोइन टेन्ट’ को आकारमा गरिएको छ । प्रतियोगिताका बेला यसको माथिल्लो भाग हटाउने योजना पनि रहेको छ । यो रंगशाला कतारको उत्तर–पूर्व तटीय क्षेत्रमा रहेको छ । दोहाबाट यो ३५ किलोमिटर टाढा छ र यहाँ पुग्न मेट्रो प्रयोग गर्नुपर्छ । त्यसैले समर्थकका लागि यहाँ पुग्न गाह्रो हुन सक्छ ।
एडुकेसनल सिटी रंगशाला
अल–रयान विश्वविद्यालयमा अवस्थित यस एडुकेसन सिटी रंगशाला दोहाको पश्चिममा पर्छ र यसमा ४० हजार दर्शनले एकैपल्ट खेल हेर्न सक्नेछन् । यहाँ जान पनि मेट्रोको प्रयोग गर्नुपर्ने हुन्छ । यहाँ एउटा क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगिताको समाप्तिमा यसको दर्शक क्षमता आधाले घटाइनेछ र यसका कुर्सी विकासशील देशलाई सहयोगका रूपमा प्रदान गरिनेछ ।
अहमद विन अली रंगशाला
अहमद विन अली रंगशालाको दर्शक क्षमता पनि ४० हजार नै रहेको छ । कतारी फुटबल इतिहासको सबैभन्दा सफल क्लब हो, अल–रयान । यसकै घरेलु मैदान हो, यो रंगशाला । विश्वकपकै लागि भनेर यसै स्थानमा रहेको पुरानो रंगशाला भत्काएर नयाँ बनाइएको हो र नाम पनि पुरानै राखिएको छ । यहाँ पुग्न पनि मेट्रो आवश्यक हुनेछ । यो रंगशाला यस्तो स्थानमा छ, जहाँबाट सहर अन्त्य हुन्छ र मरुभूमि सुरु हुनेछ । यसको दर्शक क्षमता प्रतियोगिताको समाप्तिमा आधा घटाइनेछ ।
खलिफा अन्तर्राष्ट्रिय रंगशाला
खलिफा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सन् १९८६ मा गरिएको थियो र यो नै एक मात्र यस्तो रंगशाला हो, जुन कतारले विश्वकप आयोजनाको अधिकार पाउन अगाडि नै अस्तित्वमा थियो । तर त्यसपछि यसमा धेरै सुधार भने गरिएको छ । सन् २०११ को एसिया कप फाइनल यहीं भएको थियो । उसमा ४० हजार दर्शक अटाउन सक्छन् । सन् २०१९ मा लिभरपुल र फ्लेमिङ्गोबीचको क्लब वर्ल्डकप फाइनल पनि यहीं भएको थियो । इंग्ल्यान्ड र इरानबीच खेल पनि यहीं हुनेछ ।
अल–थुमामा रंगशाला
कुल ४० हजार दर्शक क्षमताको अल–थुमामा रंगशाला मध्यदोहाबाट दक्षिणमा पर्छ । त्यसैले यो हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै नजिक छ । यस रंगशालामा एक क्वाटरफाइनल खेल आयोजना गरिनेछ । विश्वकपपछि यसको दर्शक क्षमता पनि आधा घटाइनेछ र २० हजार मात्र कायम गरिनेछ । मध्यपूर्वमा पुरुषले लगाउन एक पारम्परिक टोपी ‘गफिया’ को आकारमा यो रंगशाला बनाइएको छ ।
स्टेडियम, ९७४
अचम्मको नाम छ, यस रंगशालाको । जम्मा दर्शक क्षमता ४० हजार भएको यस रंगशालाको निर्माण सिपिङ कन्टेनरको प्रयोग गरेर बनाइएको थियो र विश्वकपछि यसलाई पूर्णरूपमा विस्थापित गरिनेछ । सबैलाई थाहा छ, कतारको डाइलिङ कोड नम्बर हो, ९७४ । यसकै प्रतीकका रूपमा यस रंगशालाको नाम जुराइएको हो । निर्माणका क्रममा यसमा ९ सय ७४ नै कन्टेनरको पनि प्रयोग गरिएको छ, यो अर्को संयोग भयो ।
अल–जनोब रंगशाला
अधिकांश रंगशालाको दर्शक क्षमता ४० हजार भए जस्तै अल–जनोब रंगशालाले आतिथ्य दिने पनि यत्तिकै संख्यामा हो । दोहाको दक्षिणमा पर्छ, यो रंगशाला । अल–वाक्राह सहरमा अवस्थित यस रंशागाला त्यस्तो डुंगाको आकारमा रहेको छ, जसको प्रयोग परम्परागत माछा मार्ने काममा प्रयोग हुन्थ्यो ।
-कान्तिपुर