मंसिर ४ को मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा मनाउन प्रधानमन्त्री देउवाको अपिल


मंसिर ४ को मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा मनाउन प्रधानमन्त्री देउवाको अपिल

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई उत्सवको रूपमा लिन सबै मतदातासँग अपिल गर्नुभएको छ ।

आज एक भिडियो सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले ‘हामी कुरा होइन काम गछौं’ भन्दै निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको निर्वाचन चिह्न र समानुपातिकतर्फ नेपाली काँग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न पनि सबै मतदातासँग अनुरोध गर्नुभएको छ । 

प्रधानमन्त्रीको भिडियो सन्देशको मुख्य अंश यस प्रकार छ:

आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरू

यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम चरणमा छौँ, लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा हो, निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो, जहानियाँ राणाशासनको आन्दोलनले राजनीतिको चरण पार गरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेछ ।

नेपाली काँग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक पार्टी हो, अब मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउनु पनि काँग्रेसको जिम्मेदारी हो । २०४६ सालपछि मुलुकले  सामाजिक र आर्थिक विकासको एउटा बाटो लिएको छ तर पनि धेरै काम गर्न बाँकी छन् ।

हाम्रा युवाहरू नयाँ प्रविधि र ज्ञान विज्ञानमा उत्कृष्टता हासिल गर्दैछन् । उनीहरूको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडि बढ्नेछौँ ।

हाम्रो शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त र दुरुस्त पार्ने परिपाटीको विकास गर्ने छौँ, सीमान्तकृत समुदायको हक अधिकार प्राप्तिदेखि पिछडिएको क्षेत्र र समुदायको उत्थानमा नेपाली काँग्रेसको सरकारले महत्त्वपूर्ण काम गरेको छ । अझै परिणाम देखिने गरी अगाडि बढाइने छ ।

निर्वाचनमा तपाईँहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गप्रशस्त गर्नेछ । दुई दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै छ । सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको हो, त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन हामी प्रतिबद्ध छौँ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा उत्साहपूर्ण रूपमा सहभागी भई प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारका चुनाव चिह्नमा र समानुपातिकतर्फ नेपाली काँग्रेसको चुनाव चिह्न रूखमा आफ्नो अमूल्य मत दिनुहोला भन्ने सबैमा अनुरोध गर्दछु ।

‘हामी कुरा होइन काम गछौं’ भन्ने तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा लिन सबै मतदाता आदरणीय दिदीबहिनी  तथा  दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु ।