श्रीलंकाली ब्याट्सम्यान धनुष्का बलात्कारको आरोपमा पक्राउ


लेखक : लेखापढी      २० कार्तिक २०७९, आईतवार १४:४९ मा प्रकाशित     
श्रीलंकाली ब्याट्सम्यान धनुष्का बलात्कारको आरोपमा पक्राउ

विश्वकप खेल्न अष्ट्रेलिया पुगेका श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

क्रिकइन्फोका अनुसार एक २९ वर्षीया महिलाले प्रहरीमा धुनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार पक्राउ परेका हुन्।

गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो। 

प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए।

ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ। 

‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि दानुस्काले उनले भेटेका थिए। त्यसपछि बुधबार साँझ उसले यौन दुव्र्यवहार गरेको आरोप महिलाले लगाएकी छन्’, न्यू साउथ वेल्स प्रहरीले भनेको छ। 

उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्। 

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिनानै आज स्वदेश फर्किएका छन्। अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।

गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अष्ट्रेलियामै रहेका थिए।

सुपर १२ बाट बाहिरिएको श्रीलंकाको टोली उनी बिना नै आइतबार बिहान स्वदेश प्रस्थान गरेको छ।