राजा चार्ल्स तृतीयसँग भेटपछि ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री


लेखक : लेखापढी      ८ कार्तिक २०७९, मंगलवार २२:०६ मा प्रकाशित     
राजा चार्ल्स तृतीयसँग भेटपछि ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री

काठमाडौं- ऋषि सुनक औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । 

बेलायती राजा  चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा प्रधानमन्त्री बनेका हुन् । 

सुनक दुई महिनाको अवधिमा बेलायतको तेस्रो प्रधानमन्त्री बनेका हुन् ।  

ऋषि बेलायतका पहिलो अश्वेत प्रधानमन्त्री हुन्। यसअघि जहिले पनि श्वेतहरू मात्र बेलायतका प्रधानमन्त्री बनेका थिए। उनी बेलायतको प्रधानमन्त्री हुने पहिलो एसियाली र भारतीय मूलका व्यक्ति हुन्। उनको भारतसँग पुर्ख्यौली साइनोमात्र होइन अहिले पनि पारिवारिक सम्बन्ध छ। 

प्रधानमन्त्री भएपछिको पहिलो सम्बोधनमा उनले बेलायतले ‘गहिरो आर्थिक संकट’को सामना गरिरहेको बताएका छन् ।  

“विश्वास आर्जन गर्नुपर्छ, र मैले तपाईंहरूकाे विश्वास आर्जन गर्नेछु,” नम्बर १० डाउनिङ स्ट्रिटबाहिर जनताहरूसँग भने । 
उनीमाथि बढ्दो आर्थिक संकट, द्वन्द्वरत राजनीतिक दल र गहिरो रूपमा विभाजित देशलाई सामना गर्ने चुनौती रहेको रोयटर्सले उल्लेख गरेको छ । 

पूर्ववर्ती लिज ट्रसका गल्तीहरू सच्याउन उनी टाेरी नेताकाे रूपमा चयन भएका हुन् । बिदाइ भाषणमा ट्रसले कर कटाैती गर्ने आफ्नाे कदमकाे बचाउ गर्ने प्रयास गरेकाे बीबीसीले जनाएकाे छ । 

सुनकले लेबर, स्कटिस नेसनल पार्टी, द लिबरल डेमाेक्र्याट र ग्रीन पार्टीकाे मागकाे बाबजुद ‘अर्ली इलेक्सन’लाई अस्वीकार गरेका छन् ।