निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना, बिदाको दिनमा जरिवाना बुझाउन सक्ने


लेखक : लेखापढी      ५ कार्तिक २०७९, शनिबार ०३:१९ मा प्रकाशित     
निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना, बिदाको दिनमा जरिवाना बुझाउन सक्ने

काठमाडौँ- स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण तोकिएको समयावधि भित्र नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । 

निर्वाचन आयोगले जारि गरेको सूचना यस्तो छ : 
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधि भित्र नबुझाउने उम्मेदवारहरूलाई आयोगको मिति २०७९।०५।३१ को निर्णय अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारहरूको नाम २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरू आफूलाई तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा २०७९ कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी दर्ता गर्न आयोगले समानुपातिक प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको सम्बन्धित सबैमा जानकारी गराइन्छ । जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट भएको व्यहोरा पुनः स्मरण गराइन्छ ।   
गुरुप्रसाद वाग्ले

प्रवक्ता,समानुपातिक निर्वाचन प्रणाली