मत सर्वेक्षण गरे कारबाही हुन्छ : निर्वाचन आयोग


मत सर्वेक्षण गरे कारबाही हुन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी चुनावमा मत सर्वेक्षण गर्न नपाइने बताएको छ । 

उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।

मत सर्वेक्षणले निष्पक्ष निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने भन्दै मत सर्वेक्षण नगर्न, त्यससम्बन्धी सामग्री प्रचारप्रसार नगर्न र सामाजिक सञ्चालमा प्रकाशन पनि नगर्न भनेको छ ।