सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने


सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्।

उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। 

उनले आफू निर्दोष रहेको बताउँदै आएका छन्। उनीमाथि १७ वर्षीया बालिकालाई भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको आरोप छ।  

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छानबिन गर्ने बताएको छ।

छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन। घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ।