डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध: पूर्वराजा ज्ञानेन्द्र शाह


डेढ दशकको राजनीतिक अभ्यासले ‘कोर्स करेक्सन’को अपरिहार्यता सिद्ध: पूर्वराजा ज्ञानेन्द्र शाह

समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दसैँ पर्वको गहन आदर्श हो । हाम्रो संस्कार र व्यवहारमा दसैँ मनाउँदा विद्यमान पद्धति र जीवनप्रतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ । शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस्, दसैँ पर्वको यही आसय हो ।

त्यसैले यस पावन अवसरमा देशभित्र र बाहिर रहे–बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ–कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन ।

बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकाङ्क्षाअनुरूप संगठित राजनीतिक दलहरू हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ । तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ । तर, आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान् र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दाबल्दो प्रश्न बनेको छ ।

पदलोलुप, सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगेकाका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ? कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाका सबै अङ्गभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ । यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन । दायित्व के ? गर्ने के ? गर्न नहुने के ? न्यायिक मूल्य के हो ? के होइनन् ? यी सबै कुराको निराकरण गर्ने गर्ने र कोबाट हुने ? देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो ।

देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था र संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ । प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो । देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रुपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातर्फ धकेल्न हुन्न भन्ने आम भावना रहेको छ ।

आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दोरहेनछ । त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन आवश्यक छ ।

नेपाल निरन्तर देशी विदेशीहरूको क्रिडाभूमि पनि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर समुन्नत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान् बनाउनु परेको छ । आफ्नै देशमा मौका नभएर हो कि नखोजेर हो, रोजगार र कमाउन भनेर दिनहूँ हजारौँको सङ्ख्यामा नेपाली युवायुवती विदेशिइरहेका छन् ।

एकातिर होनहार नागरिकहरू बाहिर गएर नेपाली भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीहरूलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ । विश्वका दुई ठुला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ ।

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको परिहार्यतासिद्ध गरेको छ । हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिक,धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित बन्दा राष्ट्रहित र सुरक्षा सङ्कटग्रस्त बन्दै गएको छ ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथ भ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौँ–हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्नु हुँदैन । राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्यव्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् जय नेपाल ।

(पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०७९ का अवसरमा दिएको भिडियो सन्देशको उतार )